उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्यमा ढिलाई भएको छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बजार संरक्षणको काम धमाधम भइरहदाँ बेनी आसपासको क्षेत्रमा सुरसार पनि गरेको छैन् ।

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत बेनीबजार संरक्षणको जिम्मा लिएको कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीले विभिन्न बाहना बनाएर काम रोकेको छ ।

कोरोना भाइरस, कामदारको अभाव लगायत विभिन्न बाहना बनाएर नदी संरक्षणको ठेक्का पाएको ठेकेदारले काम नगरेपछि पटकपटक ताकेता गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । ‘परियोजना पक्षलाई पनि धेरैपटक भनिसकेका छौ,‘हरेक बर्ष हतारमा काम गरिदाँ दिगो हुन सकेको छैन’ अध्यक्ष कर्माचार्यले भने ।

उनले आयोजनाले हरेक बर्ष आफ्नो अनुकुलको इष्टिमेट बनाउने र नदी संरक्षणमा स्थानीय सरोकारवाला निकायसँग समेत स्थलगत रुपमा जोखिमको आधारमा संरचना बनाउने तर्फ चासो नदिने गरेको बताए । ‘अब पनि काम सुरु भएन भने हामी दवाव दिन पोखरा नै जाने तयारीमा छौ’ अध्यक्ष कर्माचार्यले भने ।

उनले आयोजनालाई तत्काल ठेकेदारलाई प्रभावित क्षेत्रमा खटाउन माग गरिएको बताए । नदीमा पानीको सतह बढेसँगै काम गर्न समस्या हुने र दिगो समय नहुने भन्दै समयमै काम सुरु गर्न गरिएको ताकेता सम्बन्धित निकायले बेवास्ता गरेको बेनीबजारबासीको गुनासो छ ।

कालिपुल बसपार्क क्षेत्रमा पानीको सतहमा कंक्रिट र माथिल्लो क्षेत्रमा तारजालीको प्रयोग गरिने छ भने मंगलाघाट र प्रहरी कार्यालय आसपासको क्षेत्रमा कंक्रिट पर्खाल लगाउने रुपाताल एकीकृत संरक्षण विकास परियोजनाले जनाएको छ।

कालिपुल क्षेत्रमा ५० मिटर , मंगलाघाट ५० र प्रहरी कार्यालय आसपासमा आवश्यकता अनुसारको संरचना बनाउने गरी ठेकेदारलाई काम सुरु गर्न निर्देशन दिइसकिएको रुपाताल एकीकृत संरक्षण विकास परियोजनाका ईन्जिनियर कृष्ण विकले बताए । ‘हामीले दवाव दिइसकेका छौ,‘अब पनि ढिलाई गरे थप प्रक्रिया सुरु गछौं’ विकले भने ।

उनले यसबर्ष बेनीबजार बाहिर समेत थप बजेटको पहल भइरहेको बताए । पर्वत बेनीमा बुद्ध निर्माण सेवाले करिब २ करोडको काम करिब २५ प्रतिशत सम्पन्न गरिसकेको छ । प्ररियोजनाले रुग्न ठेक्काको कामलाई समेत निरन्तरता दिइरहेको जनाएको छ ।

Leave a Reply