म्याग्दी सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन भएको छ । बिहीबार विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले नवीनकुमार श्रेष्ठको अध्यक्षमा व्यवस्थापन समितिको पुनर्गठन गरेको हो ।

समितिको सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ, साधनाकुमारी श्रेष्ठ, भगवती शर्मा, जनमायाँ छन्त्याल र देवेन्द्र भट्टराई छनोट भएको विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिए । यसैगरी विद्यालयको पदेन सदस्यमा बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र सदस्य सचिवमा प्रअ हरिकृष्ण सुवेदी रहेको विद्यालयले जनाएको छ ।

यसैगरी अभिभावकहरुको भेलाले दिनेश शर्माको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा कृष्णबहादुर हमाल, लक्ष्मी जोशी, लक्ष्मी भण्डारी, मनमायाँ गर्बुजा रहेका छन् । भेलाको उद्घाटन गर्दै विद्यालयका भूतपूर्व अध्यक्ष एवं आजीवन सल्लाहकार अङ्गदकुमार श्रेष्ठले स्थानीयस्तरमा शिक्षाको ज्योति फैलाउन प्रकाश माध्यमिक विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले विद्यालयले माग गरेको विषयमाथि वडा कार्यालय र नगरपालिकाबाट सहयोग भैरहेको जानकारी गराए । भेलामा बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँले कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य सामग्री खरिदका लागि आधारभूत तहमा प्रतिविद्यार्थी १५० र मावि तहमा २०० रुपैयाँको दरले बजेट उपलब्ध गराएको जानकारी दिए ।

भेलामा नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण रिजालले मन्तव्य राखेका थिए । भेलामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ हरिकृष्ण सुवेदीले वि.सं. १९८५÷८६ देखि गुरुकूल परम्पराबाट सुरु भएको प्रकाश माविले समयक्रममा आधुनिक शिक्षा प्रदान गर्दै आएको जानकारी गराए ।

Leave a Reply