पर्वतको खुर्कोटमा रहेको नेपाल बिद्युत प्राधिकरणले निर्माण गरेको २२० केभी क्षमताको खुर्कोट सबस्टेशनको गएरातीदेखि चार्ज सुरु भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइन चार्जका लागि बिहीबारदेखि परिक्षण सुरु गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाको बेनी स्थित कार्यालयले जनाएको छ ।
आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परिक्षण सकेर सबस्टेशन चार्ज सुरु गरेको बताउनुभयो । सबस्टेशन चार्जको परिक्षण अबधि २४ घण्टाको हुन्छ । मोदी–चुवा हुदै खुर्कोटसम्म १३२ केभी बिद्युत ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज गरिएको हो ।
आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले खुर्कोटको सबस्टेशनको परिक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सबस्टेशन चार्ज गरिने बताउनुभयो । स्थानीय आयोजनाबाट उत्पादीत बिद्युत कम क्षमताको भएकाले मोदी–चुवा–खुर्कोट हुदै दाना सबस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।
दाना सबस्टेशन अन्तरगत ५ मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत आयोजना चालु छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला परिक्षण उत्पादनको तयारीमा छ । सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परिक्षण सफल भएपछि केन्द्रिय ग्रिडमा जोडिने भएको छ । सबस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारीहरु राती दश बजेसम्म खुर्कोटमा बसेर काम गर्नुभएको थियो ।
खुर्कोट स्थित सबस्टेशन चार्जमा उपस्थित हुनुभएका नेपाल बिद्युत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सबस्टेशन चार्ज प्रशारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले खुर्कोट सबस्टेशनको परिक्षण सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यहाँबाट दाना सबस्टेशन सम्म १३२ केभी लाइनबाट बिद्युत पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सबस्टेशन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको छ । ११० वटा टावर निर्माण भएको छ । खुर्कोट देखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सब स्टेशन जोड्ने ६ किलोमिटर लामो प्रशारण लाइनको परिक्षण सफल भइसकेको छ ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।
प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सन २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाई, पोखरेबगरका जग्गाधनीको बिवाद, पहिरो, कोरोना लगायत कारण दुई वर्ष वर्ष पछि ढकेलिएको हो । लक्ष्मण सापकोटा