छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो ।

नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

“हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।

हस्तान्तरण भएको सडकखण्ड कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कनको काम सुरु गरेको कालीगण्डकी करिडोर गैँडाकोट राम्दी–मालढुङ्गा सडक आयोजनाका प्रमुख नवराज बास्तोलाले जानकारी दिनुभयो ।

उत्तर–दक्षिण जोड्न छोटो मार्ग पाएपछि छिमेकी भारत र चीनका पर्यटकले यही मार्ग प्रयोग गर्ने अपेक्षा गरिएको छ । विशेष गरी व्यापारिक तथा धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त बन्ने प्रतिनिधि सभाका निवर्तमान सदस्य डा। सूर्य पाठकको भनाइ छ । “हस्तान्तरण भएको खण्ड यसै वर्ष कालोपत्रे हुनेछ”, उहाँले भन्नुभयो, “बाँकी खण्डको पनि बहुवर्षीय योजनामा समावेश गरेर काम गर्नेछौँ ।”

करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, राम्दीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ, कालिका, गलेश्वर धाम, कागवेनी, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता महŒवपूर्ण तीर्थस्थल पर्छन् । उक्त मार्गलाई धार्मिक करिडोरका रूपमा पनि विकास गर्न सकिने डा। पाठकको भनाइ छ ।
“चीनका बौद्ध र भारतका हिन्दु धर्म मान्नेलाई यो करिडोर अति नै उपयोगी हुनेछ”, उहाँले भन्नुभयो, “कोरोना नाका सञ्चालन गरेर व्यापारिक र धार्मिक पर्यटन बढाउनुपर्छ । उक्त करिडोरमा विभिन्न स्थानमा गरी करिब १४८ घाट छन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन सक्ने सम्भावना पनि उत्तिकै छ । कोरलाबाट २५७ किमी पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो धार्मिक पर्यटकका लागि उत्तम मानिन्छ । करिब ४३५ किमीको कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।