निःशुल्क तथा बृहत स्वास्थ्य शिविरबाट ग्रामीण तथा दुर्गम भेगका सर्वसाधारण बिरामीहरु लाभान्वित भएका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित निःशुल्क तथा बृहत स्वास्थ्य शिविरबाट ४ सय ५० जना बिरामीहरु लाभान्वित भएका हुन् । शनिबार दिनभर सञ्चालित शिविरमा अन्नपूर्ण गाउँपालिकाको नारच्याङ, दाना, भूरुङ–तातोपानी, शिख, घार तथा हिस्तानबाट सर्वसाधारण नागरिकहरुले सहभागिता जनाएका थिए । शिविरमा सामान्य स्वास्थ्य चेकजाँच, भिडियो एक्सरे, इसिजीद्वारा मुटुको परीक्षण, पिसाबद्वारा मृर्गौला र सुगरको चेकजाँच, रगतको परीक्षण, ब्लडप्रेसर, थाईराइड, बाथ, दम, चर्मरोग, ग्याँस्ट्रिक, दन्त सेवा, परिवार नियोजनसम्बन्धी परामर्शलगायत सुविधाहरु उपलब्ध गराइएको थियो। निःशुल्क तथा बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँचसहित निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । उक्त शिविरमा अधिकांश बिरामीहरुमा ग्याँस्ट्रिक, प्रेसर, सुगर, छाला तथा दाँतसम्बन्धी बिरामीहरुको पहिचान एवं उपचार गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत एमडिजिपि डाक्टर अंगना पराजुलीले जानकारी दिइन् । शिविरमा स्वास्थ्य परीक्षणका क्रममा जटिल प्रकारका बिरामीहरुलाई थप उपचार तथा फ्लोअपका लागि बेनी अस्पताल म्याग्दी र गण्डकी अस्पताल पोखरामा जान डाक्टरहरुले सुझाव दिएका छन् । शिविरको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण युवा क्लब नारच्याङको सहयोग, कोभिड अस्पताल अन्नपूर्णको प्राविधिक सहयोग तथा सिर्जनशील आमा समूह नारच्याङले आयोजना गरेका थिए । शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ प्याथोलोजिष्ट डा. मोनी सुवेदी, डा. अंगना पराजुली, कोभिड अस्पताल धवलागिरी गाउँपालिका म्याग्दीका प्रमुख डा. एकराज भण्डारी, कोभिड अस्पताल अन्नपूर्णका प्रमुख डा. लक्ष्मी पन्थीसहित स्वास्थ्यकर्मीको टोलीले सर्वसाधारण बिरामीहरुको उपचार गरेका थिए । शिविरको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकाभित्र नागरिकहरुको स्वास्थ्यमा सुधार गर्न गाउँपालिकाले जोड दिएको बताइन् । उनले दुर्गम तथा विकट गाउँका सर्वसाधारण नागरिकहरुको स्वास्थ्य उपचारमा आवश्यक पहल गरिने बताउँदै नागरिकले स्वास्थ्य शिविरबाट स्वास्थ्यलाभ लिनुपर्ने बताएकी छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीका निजी सचिव चन्द्रमणि सापकोटाले प्रदेश सरकारले दुर्गम ठाउँका जनताको स्वास्थ्यलाई लक्षितसहित उनीहरुले महसुश गर्नेगरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै म्याग्दी जिल्लामा स्वास्थ्यको क्षेत्रमा भवनलगायत संरचनाहरु निर्माण गर्न जोड दिएको बताए ।अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले पालिकाले सबै वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ प्याथोलोजिष्ट डा. मोनी सुवेदी, अन्नपूर्ण कोभिड अस्पताल प्रमुख डा. लक्ष्मी पन्थी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले मन्तव्य राखेका थिए । शिविरको उद्घाटनसत्र सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया गुरुङको अध्यक्षता, समाजसेवी दिलु बुदुजाको स्वागत र निलगिरी आधारभूत विद्यालयका शिक्षक विरमाया विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply