नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आइतबार मंगला गाउँपालिकामा पालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा जिल्ला कमिटीको निर्णयअनुसार यसअघि धवलागिरी गाउँपालिकामा अगुवा भेला गरिएकोमा मंगलामा पनि भेला गरिएको नेकपाले जनाएको छ ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले पार्टीको असहयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले नेकपाबाटै प्रधानमन्त्रीलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता कार्य अगाडि बढाएपछि संसद विघटनको अवस्था आएको बताउँदै नेपालमा केपी ओली नेतृत्वको सरकारबाहेक अरुले काम गर्न नसकेको बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य नवराज शर्माले संसद विघटनपछि अबको विकल्प मध्यावधि निर्वाचन भएको भन्दै संसद पुनसर््थापना नहुने बताउनुभयो । भेलामा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ र जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी काम गरिरहेको अवस्थामा पार्टी भित्रबाटै भएको असहयोगले संसद विघटन जस्तो अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको थियो ।

कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, अनेरास्ववियुका मंगला संयोजक दर्पण रोका, राष्ट्रिय युवा संघका नेता एकजित रोका, अखिल नेपाल महिला संघका यशोदा रोका, नेकपा मंगला गाउँ कमिटी सचिवालय सदस्य शिव विक, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती र नेकपा मंगला–४, का वडा कमिटी अध्यक्ष कलाधर कँडेलले मन्तव्य राखेका थिए । मंगलाका ५ वटै वडाबाट नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको यूवा संघ नेपालका नेता नारायण जिसीले जानकारी दिनुभयो ।

मंगलाका वडा सहित टोलटोलमा पुगेर संगठनका बाँकी काम गर्न अगुवा कार्यकर्ताले प्रतिबद्धता समेत जनाएका छन् । मगर संघको सभाहलमा नेता तथा कार्यकर्ताको उपस्थिती देखेर जिल्लाबाट गएका नेताहरु समेत उत्साहित हुदै नेकपा जिल्लामा पहिलो पार्टी हुने घोषणा समेत गरेका थिए । कार्यक्रम नेकपा मंगला गाउँपालिका कमिटी अध्यक्ष प्रेमप्रसाद रेग्मीको अध्यक्षता, सतप्रसाद रोकाको सञ्चालन र शंकर शेरचनको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply