नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको सोमबार बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपा जिल्ला कमिटीको निर्णयअनुसार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाबाट सुरु भएको भेला मालिका, मंगला हुँदै बेनपामा गरिएको हो ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले पार्टीको मूल ध्येयतर्फ भन्दापनि पदका लागि मात्र लड्न थालेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशमा जानुपर्ने बाध्यता आएको बताउनुभयो ।

उहाँले आफ्नै पार्टीले चयन गरेका प्रधानमन्त्री तथा राष्ट्रपतिका विरुद्धमा संसदमा मोर्चाबन्दी हुन थालेपछि प्रधानमन्त्रीले यस्तो कदम चालेको बताउँदै प्रधानमन्त्री नेतृत्वको नेकपा नै आधिकारिक भएको बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य नवराज शर्माले नेपालको संविधानको मूल मर्म भनेको नेपालको राजकीय सत्ता जनतामा निहित हुने भन्ने भएकाले जनतामै जनमत लिन जानुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाका सबै स्थानीय तहसँगै वडास्तरमै अभियान सञ्चालन गरिने बताउनुभयो ।

भेलामा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ र जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले पार्टी भित्रबाटै भएको असहयोग एवं प्रधानमन्त्रीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बन्ने लहडले सताएपछि अहिलेको अवस्था आएको बताउँदै कार्यकर्ताले समेत राम्रोसँग बुझेको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा म्याग्दीका सदस्य सुरत, केसी, प्रमोद श्रेष्ठ, सन्तोष रावल, राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय सदस्य नारायण जिसी, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, अनेरास्ववियु म्याग्दीका संयोजक सुवास वि.क. राष्ट्रिय युवा संघ म्याग्दीका सदस्य शिशिर शाही, नगर कमिटी संयोजक लक्ष्मण केसीले यात्रा धेरै अगाडी बढिसकेकाले अलमलमा परेका नेताहरुलाई समयमै ट्याक समातेर यात्रा गर्न अनुरोध गदैं गाडी पछाडी नफर्किने बताउनुएको थियो । नेकपा म्याग्दीका सचिवालय सदस्य एवं नगर सचिव राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमको बेनपा–६, का अध्यक्ष कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply