म्याग्दीमा आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दावि विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत पुस ६ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको र पुस ५ गतेसम्म संकलित मतदाता नामावलीलाई अद्यावधिक गरि अन्तिम मतदाता नामावली कायम गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका एक नगरपालिका सहित ६ वटै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन गरिने र मतदाता नामावलीमा नाम, विवरण र दोहोरोपनमा देखिएका त्रुटीहरु सच्चाउने गरि अभियान सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख नाम दर्ता अधिकारी समेत रहनुभएका निर्वाचन अधिकारी घिमिरेका अनुसार, हरेक स्थानीय तहमा एक/एक जना सहायक नाम दर्ता अधिकारी रहने व्यवस्था अनुरुप जिल्लाका ६ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरुलाई तालिम दिएर खटाईसकिएको छ ।

स्थानीय तहकै कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाताहरुको नामावली टाँस गरिनेछ । उक्त नामावलीमा त्रुटी देखिएमा विवरण सच्चाउन दरखास्त दिने, दोहोरो नाम भेटिएमा हटाउन निवेदन दिने,मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन दावी विरोध गर्न माघ १५ देखि १८ गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यलाई प्रचार प्रसार र व्यापक बनाउनका लागि कार्यालयले साेमबार बेनीमा सरोकारवालासंग अन्तरक्रिया समेत गरेको छ । राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक संघ संस्थाका अगुवाहरुसंग कार्यालयले अन्तरक्रिया गरि अभियानको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मतदाता नामावलीलाई त्रुटीरहित बनाउँदै निर्वाचनमा मतदाताको अधिकारको सुनिश्चित गर्नका लागि मतदाता अद्यावधिक आबश्यक रहेकोमा जोड दिनुभयो ।

 

Leave a Reply