म्याग्दीमा आगामी निर्वाचनलाई लक्षित गर्दै तीनवटा मतदान केन्द्र थपिएको छ । जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितीमा मतदातालाई सहज हुने गरी वडाभित्रको मतदान केन्द्र हेरफेर र थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलिय बैठकबाट जिल्ला निर्वाचन कार्यालयले बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा एक–एक मतदान केन्द्र थप गर्ने प्रस्तावमा राजनीतिक दलले समेत सहमति जनाएका थिए ।

बेनपा–५ पुलाडाँडामा रहेको केन्द्रलाई हटाएर जनकल्याण माविमा कायम गरिएको छ भने डडुवा, नयाँगाउ र चिप्लेटीका मतदातालाई लक्षित गरी डिम्ब आधारभुत विद्यालयमा नयाँ मतदान केन्द्र थपिएको छ ।

मंगला गाउँपालिका–१ दिपशिखामा रहेको केन्द्रको ३ वटा बुथमध्ये घटाएर थाईबाङ र भर्जुलाबासीलाई सहज हुने गरी भर्जुला र अन्नपूर्ण गाउँपालिका–८ राम्चेको एक बुथलाई घटाएर नांगीको हिमाञ्चल माविमा कायम गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो ।

‘केही नयाँ मतदान केन्द्र अझै थप हुनसक्छ,‘भौगोलिक रुपमा टाढा भएका केन्द्रमा मतदातालाई आवतजावतमा समस्या हुने गरेको छ’ प्रमुख घिमिरेले भन्नुभयो । रघुगंगा गाउँपालिका–३ पिप्लेमा समेत मतदान केन्द्र हेरफेर गरिएको छ भने मतदाताको नामावली अनुसार थप एक केन्द्र थप्ने तयारी भइरहेको छ ।

निर्वाचत आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि–२०७७ को मापदण्डमा रहेर मतदान केन्द्र थप, खारेर र हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ‘मतदान प्रक्रियामा सहभागि हुन बास बस्नुपर्ने अवस्थामा बस्तीहरु पनि छन्,‘मतदातालाई सहज मतदान गर्ने वातावरण बनाउनुपर्छ’ प्रजिअ अधिकारीले भन्नुभयो । यसअगाडीको निर्वाचनमा म्याग्दी जिल्लाभर कुल १०६ मतदान केन्द्र रहेका थिए ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दावि विरोधका लागि कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत पुस ६ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको र पुस ५ गतेसम्म संकलित मतदाता नामावलीलाई अद्यावधिक गरि अन्तिम मतदाता नामावली कायम गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

 

Leave a Reply