---Advertisement---

हिमाल आरोहण गर्नेलाई सरकारले अवार्ड दिन्छ : प्रधानमन्त्री

On: January 26, 2021 6:56 PM
Follow Us:

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ । मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पुर्जालगायतका १० नेपाली आरोहीलाई बधाइ व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझमाथि उठाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको बारेमा आगामी दिनमा राज्य बेखबर नहुने बताउनुभयो ।

वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने मन्त्री ढकालको भनाई छ । माउन्ट केटुका आरोही निर्मल पुर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको मन्त्री ढकालले बताउनुभयो ।

माउन्ट केटु आरोहण गरी नेपालको नाम विश्वसामु राखेको भन्दै नेपाल सरकाले उच्च सम्मान गर्ने बताएको थियो । १० जनाको समूहको नेपाली आरोहीले यही माघ ३ गते माउन्ट केटु हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो । baahrakhari.com