बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा म्याग्दी समाज अमेरिकाले १४ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । बाढीपहिरोबाट धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्लाका विभिन्न स्थानमा विस्थापित भएकालाई समाजले १४ लाख ३० हजार सहयोग गरेको महासचिव भिम केसीले जानकारी दिनुभयो ।

‘उक्त सहयोग मोनाको खातामा जम्मा भइसकेको छ,‘आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौ’ केसीले भन्नुभयो । समाजले मोनाको आपत्कालिन कोषमा समेत करिब ८ लाख जम्मा गरिसकेको छ ।अभियानमा म्याग्देली सहित नेपालीले आर्थिक सहयोग गरेको समाजले जनाएको छ । समाजमा अध्यक्ष इन्द्र थापाले विस्थापितलाई अर्को बर्खासम्म पुर्नवासका लागि घर बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

समाजका पूर्व अध्यक्ष अमर छन्त्याल मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत हुनुहुनछ । मोना मार्फत भूकम्प प्रतिरोधी इन्टरलक इट्टाको प्रयोग गरी जिल्लाभर विस्थापित मध्येको ४० घर बनाउने अभियान सुरु भएको छ । यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियानमा अमेरिकबाट प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेका पूर्ण क्षतिग्रस्त घरहरू मध्ये मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिका गाउँपालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४ र ४ वटा घर बनाउने छ । म्याग्दीमा कुल १ हजार ६८ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । वैशाखसम्म सबैलाई पुनर्वास गराउने लक्ष्य रहेको छ ।

Leave a Reply