गएको मंसिर २५ गते बिहिबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, एक यूवाको एक्कासी सास फेर्न गाह्रो भयो। आफ्ने मोटरसाईकलमा बेनी अस्पतालमा चेकजाँच गर्न आएका यूवा साँझ घर फर्किए। भोलीपल्ट विहानै अचानक विरामी भएपछि बेनी अस्पतालका चिकित्सकको अनुरोधमा थप उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भयो। विद्यार्थी राजनीति र शिक्षण पेशामा आवद्ध यूवाले अक्सिजनको स्तर ५० प्रतिशतभन्दा तल झरेको थियो।

बेनी नगरपालिका-२, बगरफाँटका घर भई सदरमुकाम बेनीमा तीन दशकदेखि इलेक्टिकल पसल गरिरहेका ३९ बर्षिय अर्का यूवाको घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासी श्वास–प्रश्वासमा समस्या देखिएपछि बेनी अस्पतालमा उपचारका लागि भर्ना भए।

आफ्नै सवारीसाधनमा अस्पतालको आकस्मिक कक्षमा भर्ना भए। अस्पतालसम्म पुग्दा अक्सिजनको मात्र निकै कम थियो। एक हप्तादेखि घाँटी दुख्ने समस्याले सताएपछि मात्रै अस्पतालमा पुगेका उनको थप उपचारको क्रममा पोखरामा पुस १९ गते मृत्यु भयो। लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै उनी अस्पतालमा गएका थिए । पछिल्ला दिनमा यसरी मृत्यु हुनेको संख्या बढिरहेको छ ।

म्याग्दीमा पछिल्लो तीन महिना यता एक्कासी शरीरमा अक्सिजनको मात्रा कम भएर अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या ह्वात्तै बढेको छ। जनचेतनाको अभाव र ब्यस्त दैनिकीले शरीरमा अक्सिजनको मात्रा कम हुदाँ समेत उपचारका लागि अस्पतालसम्म जान नसक्दा अचानक मृत्यु हुने गरेको बेनी अस्पतालका क्लिनिक कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बताए।

‘शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक छ,‘जटिल अवस्थामा आएका बिरामीलाई आँखै अगाडी गुमाउनुपरेको छ’ डा.बस्ताकोटीले भने। अक्सिजनको कमी भएर अस्पतालमा पुगेका धेरै बिरामीले उपचारपछि सकुशल घर समेत फर्किएका छन् ।

कोरोना संक्रमणको लक्षणसँग मिल्ने भएकाले उपचार नगरी घरमै बस्ने र अन्तिम समयमा अस्पतालमा आउने गरेको बताए। शरीरमा अक्सिजनको मात्रा ९५ देखि १ सय प्रतिशतसम्म राम्रो मानिने डा. बस्ताकोटीको भनाई छ ।

अक्सिजनको स्तर ५० प्रतिशतसम्म झर्दा समेत बेवास्ता गर्दा मृत्युको जोखिम बढेको डा. बस्ताकोटीले बताए। भित्रभित्रै फोक्सोमा खराबी भइसक्दा समेत विरामीले आफ्नो शरीरको ख्याल नगर्दा अन्तिममा सास फेर्न कठिन भएपछि मात्रै अस्पताल पु¥याउँदा ज्यानै जाने जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।

कोरोनाको संक्रमण नभएकाहरुमा समेत श्वास–प्रश्वासमा देखिएको समस्यालाई पहिचान गरी चेकजाँच गर्नुपर्ने चिकित्सकको भनाई छ । म्याग्दीबाट उपचारका क्रममा जिल्ला बाहिर गएका ५ जना मध्ये १ कोरोना संक्रमति बाहेक अन्य श्वास–प्रश्वासमा देखिएको समस्याका कारण मृत्यु भएको छ ।

‘हेल्चेक्राईले ज्यानै जान्छ’: डा.बस्ताकोटी
कोरोनाको लक्षण देखिदाँ समेत अस्पतालसम्म नआउने बिरामीको संख्या बढ्दै गइरहेको छ। बेनीबजार आसपासकै बिरामी समेत एक्कासी सिकिस्त भएपछि मात्रै बेनी अस्पतालमा आउने गरेको पाइन्छ। सामान्य रुघाखोकी, ज्वरो जस्ता कोरोना लक्षण देखिंदा पनि परीक्षण नगरेको कारण सास फेर्न एक्कासी कठिन भएपछि मात्र अस्पताल आउने गरेकाले आवश्यक सचेतनामुलका कार्यक्रमहरुलाई समेत ग्रामिण क्षेत्रसम्म पु¥याउनुपर्ने अवस्था छ । श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने संक्रमणबाट जोगिन आवश्यक होशियारी अपनाउनुपर्छ । सास फेर्न धौ धौ भएको महसुस गर्दा वित्तिकै अस्पतालमा पुग्नुपर्छ । निमोनिया सामान्यदेखि गम्भीर प्रकृतिको हुन्छ।  सामान्य ध्यान दिने हो भने यो रोगबाट जोगिन सकिन्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मात्रै अस्पतालमा आउने चलन छ ।

निमोनियाको लक्षण देखिनेबित्तिकै उपचार गर्नेतर्फ ध्यान दिनुपर्छ। आफूखुसी औषधि सेवन गर्नु हुँदैन। चिकित्सक÷स्वास्थ्यकर्मीको सल्लाहमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि सेवन गर्नुपर्छ। समय समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक छ । रगतको जाचद्धारा पनि शरीरमा भएको अक्सिजनका स्तर मापन गर्न सकिन्छ ।बेनी साप्ताहिकबाट साभार

Leave a Reply