सदरमुकामस्थित बेनी अस्पतालको दक्षिणी कुनामा छ शव घर । जिल्ला अस्पतालकी कार्यालय सहयोगी लक्ष्मी किसान आम महिलाको भन्दा फरक काम गर्छिन्, जुन गर्ने आँट र संयोग जो कसैलाई जुर्दैन । जिल्लाभरिमा आत्महत्या वा अप्राकृतिक कारणले मृत्यु भएकाको अन्तिम संस्कार हुनुअघि शव लक्ष्मीकामा पुग्छन् । पोस्टमार्टमका लागि अस्पताल आएका शवलाई पहिले उनी निर्वस्त्र बनाउँछिन् । डाक्टरको निर्देशनअनुसार चिरफार गर्छिन् । अंगहरू झिक्छिन् । अनि पुनः त्यसलाई शरीरभित्र राखेर सिलाउँछिन् ।

डाक्टरले नियालेर उनको सबै काम हेर्दै पोस्टमार्टम रिपोर्ट तयार पार्छन् । रिपोर्ट र चिरिएको शव दुवै बोकेर आफन्त सद्गततिर लम्किन्छन् । लक्ष्मीको दैनिकी यसरी बित्न थालेको १५ वर्ष पुग्यो । यसबीचमा उनले दुई हजारभन्दा बढी शव चिरिसकेकी छन् । उनी अस्पतालको शौचालय पनि सफा गर्छिन् ।

देख्दा साधारण लक्ष्मीको जब मानिस यस्तो असाधारण अनुभव सुन्छन् तब अचम्म मानेर उनलाई हेर्छन् । लक्ष्मीको अनुभवले भन्छ, पोस्टमार्टम गर्न मानिसले ठानेजस्तो सजिलो छैन । कहिलेकाहीं सडेगलेका र अति दुर्गन्धित शव पनि हुन्छन् । ‘त्यस्तो शवलाई छुन्न भन्न मिल्दैन, चिरफार गर्नै पर्‍यो,’ भन्छिन्, ‘यस्तो बेला सहने शक्ति चाहिन्छ ।’

वर्षौंदेखि गर्दै आए पनि लक्ष्मीलाई आफ्नो काम अझै सामान्य लाग्न सकेको छैन । त्यसैले हतपत उनी यसबारे कसैसँग कुरा गर्दिनन् । कतिसम्म भने, कान्तिपुरसँगको लामो कुराकानीमा उनले आफ्नो ठेगाना खुलाउन चाहिनन्, तस्बिर खिच्न मनाही गरिन् । पोस्टमार्टम गर्ने प्रमुख भूमिका फरेन्सिक विशेषज्ञ चिकित्सकको हो । तर पोस्टमार्टम गर्दा डाक्टर एक्लै हुँदैनन् । सहयोगीले डाक्टरको निर्देशनमा शव चिरफार गर्छन् ।

‘मेरो पनि हृदय छ, छोराछोरी छन् । पेसाप्रतिको जिम्मेवारी महसुसले गर्दा नै पोस्टमार्टममा संलग्न भएकी हुँ,’ बुधबार साँझ पोस्टमार्टममा छिर्नुअघि उनले भनिन्, ‘पोस्टमार्टम गर्दा मैले मृत मान्छेको शरीर चिरेको होइन, डाक्टरले शल्यक्रिया गर्न चिरफार गरेको सम्झन्छु । मृतकलाई मृत्युपछि न्याय दिलाउने काममा संलग्न छु भन्ने सम्झेर गर्व लाग्छ ।’ पोस्टमार्टमको सही रिपोर्टले अदालतले सही फैसला गर्ने भएकाले इमानदारितासाथ काम गरेको उनले बताइन् ।

मृत शरीरको शिरदेखि पैतालासम्म चिरफार गर्दै सबै अंग परीक्षण गरेर पोस्टमार्टम रिपोर्ट बनाइन्छ । शरीरभित्रको आवश्यक अंगको टुक्रा नमुना झिकेर प्याथोलोजी जाँच गरिन्छ । सोहीअनुसार चिकित्सकले पोस्टमार्टम रिपोर्ट तयार गर्छन् । मृत्युको विषय अदालतसम्म पुग्दा पोस्टमार्टम रिपोर्ट महत्त्वपूर्ण प्रमाण ठहरिन्छ ।

‘कलेजमा पोस्टमार्टम गरेको हेर्दा र व्यवहारमा अभ्यास गर्दा कोही त नर्मस नै हुन्छन् । महिलाहरू अक्सर सुई लगाउने भन्दा पनि डराउँछन् तर लक्ष्मी निडर छिन् । ढुक्कले काम गर्छिन् । काममा अभ्यस्त भए पनि उनी तालिम प्राप्त नभएकाले डाक्टरले नै ह्यान्डिल गर्छौं,’ बेनी अस्पतालका डाक्टर ऋषव खनालले भने, ‘पोस्टमार्टम गर्दा कहिलेकाहीं जटिल लाग्यो, शंका लाग्यो भने र कहिलेकाहीं मृतकका आफन्तले विशेषज्ञ नै खोजेको अवस्थामा नमुना संकलन गरी पठाउँछौं ।’ लक्ष्मीको सहयोगमा पोस्टमार्टम गर्दा कहिल्यै अप्ठ्यारो नभएको उनले बताए ।

‘काम गर्न नाइँ नभन्नु नै लक्ष्मीको सबल पक्ष हो । रातदिन नभनी जिम्मेवारीपूर्वक काम पूरा गरेकी छन्’ बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । २०५७ देखि २०६२ सम्म लक्ष्मीका श्रीमान् पोस्टमार्टम गर्ने काममा संलग्न थिए । श्रीमान्ले त्यो काम छाडेपछि लक्ष्मीले जिम्मेवारी सम्हालेकी हुन् ।

‘सुरु–सुरुमा डरले हात काप्थे । गाह्रो भएको थियो । डाक्टरले सम्झाए, अप्रेसन गर्ने ठाउँमा लगेर चिरेको देखाएपछि बिस्तारै सिक्दै गएँ, बानी पर्‍यो,’ लक्ष्मीले भनिन्, ‘एउटा शवको पोस्टमार्टम गरेको डाक्टरले कति पाउँछन्, थाहा छैन, मैले भने २ सय रुपैयाँमा कर कट्टी गरी पाउँछु ।’ कान्तिपुर दैनिकमा समाचार छ ।