म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेका सार्वजनिक शौचालय उचित संरक्षणको अभावमा अझै प्रयोगमा आएको छैन्। दैनिकजसो विभिन्न प्रयोजनले सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लक्षित बेनी नगरपालिका–७, पुस्तकालय चोकमा करिब एकदशक अगाडी निर्माण गरिएको २ वटा सार्वजनिक शौचालय प्रयोगमा नआएको हो ।

बेनी सामुदायिक मावि अगाडी तत्कालिन अर्थुङे गाविसले बनाएको शौचालय सर्वसाधारणहरुको पहुँचमा रहेपनि सम्बन्धित निकायले ब्यवस्थित बनाउने तर्फ ध्यान नदिदाँ सर्वसाधारणलाई समस्या भएको छ ।

शौचालय आसपासमा ठेला ब्यवसायीले प्रयोग गर्ने गरेपनि शौचालय खण्डहरमा परिणत भएका छन्।बेनीबजारकै कालिपुल बसपार्क, बहुउदेश्यीय मैदानको कृषि उपज केन्द्रको टहरामा बनाइएको शौचालय सदरमुकाम आउने नागरिकहरुले प्रयोग गर्न पाएका छैनन् ।

मापदण्ड अनुसारका शौचालय सञ्चालनमा नगरपालिकाले समेत चासो देखाएको छैन् । शौचालय निर्माण गरेपछि केही समय शुल्क लिएर सञ्चालन गरिएपनि पुनःविवाद र अन्य ब्यवस्थापनमा देखिएको कमजोरीले बन्द भएको स्थानीयको भनाई छ ।‘शौचालयमा ताला लगाउँदा समस्या भएको छ,‘यात्रुलाई धेरै सास्ती भएको छ’शौचालय आसपासमा ब्यवसायी गर्ने एक ब्यवसायीले भने।

सार्वजनिकस्थलमा रहेका शौचालय बन्द हुदाँ निजी घरमा जानुपर्ने र त्यहाँ समेत विभिन्न भनाई सुन्नुपर्ने अवस्था रहेको बताउँदै सर्वसाधारणले शौचालयको मर्मत गरी सञ्चालन गर्न बेनी नगरपालिकालाई अनुरोध गरेका छन् ।

यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बहुउदेश्यीय मैदानको शौचालय प्रयोगमा आएको र अन्य प्रयोगविहिन अवस्थामा रहेकालाई समेत उचित आवश्यकताको आधारमा सञ्चालनमा ल्याउने बताउनुभयो ।

‘ पुराना शौचालयमर्मत गरेर प्रयोग गर्न तयार छौ,‘आवश्यकता देखिएका ठाउँमा शौचालय बनाउन पनि सकिन्छ’ प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो । बेनीमा दरबाङ बसपार्कमा थप शौचालय, हाँडेभिर, कालिपुल लगायत भिडभाड हुने स्थानमा थप शौचालयको आवश्यकता रहेको छ। यसैबीच बेनी अस्पताल लगायत विभिन्न सरकारी कार्यालयमा रहेका शौचालय अब्यवस्थित भएको भन्दै गुनासो गर्ने गरिएको छ ।

Leave a Reply