‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित अपाङ्गतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग संघ म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा बिहीबार सदरमुकाम बेनीमा समावेशी विकासमा सरोकारवाला निकायको भूमिका विषयक कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको संरक्षण तथा सेवासुविधा उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने बताइन् ।

उनले बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको सहकार्यमा अपाङ्गसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि पहल गरिएको बताउँदै स्थानीय तहमा दोभासे राख्नका लागि सबै पालिकाहरुबीच छलफल भैरहेको जानकारी दिएकी छन् । अपाङ्गता भएका व्यक्तिहरुमा भएको क्षमताको सम्मान गर्नुपर्ने नगर उपप्रमुख बरुवालको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले २०६८ सालको जनगणनाअनुसार नेपालमा १ दशमलव ९४ प्रतिशत अपाङ्गताको तथ्याङ्क रहेको भन्दै आगामी वर्ष हुने जनगणनामा अपाङ्गताको स्पष्ट तथ्याङ्क आउनुपर्ने माग गरेका छन् । उनले सबै स्थानीय तहहरुमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति हुने भएकाले त्यसको जिम्मेवारी धेरै हुने बताउँदै भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका संयोजक खोमराज शर्माले अपाङ्गताको सम बुझाई र अपाङ्गता समावेशी विकासमा सरोकारवालाको भूमिका विषयसँग सम्बन्धित रहेर आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय महासचिव राजु बस्नेत, बेनपा–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँ, ६ नम्बर वडा अर्थुङ्गका अध्यक्ष कृष्णबहादुर बानियाँ र ७ नम्बर वडा बेनीबजारका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइको अपाङ्गता लेखाजोखा संयोजक कल्पना केसीले मन्तव्य राखेको कार्यक्रम अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, केन्द्रीय कोषाध्यक्ष केपी अधिकारीको स्वागत र जिल्ला सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply