दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका बेनी नगरपालिका–३ भकिम्लीका दुई मृगौला पीडितलाई तिन गाउँले समाज यूकेले ३ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरेका छन् ।

वडा कार्यालयमा आयोजित कार्यक्रमा वडा अध्यक्ष पदम पुनले उपचारमा आर्थिक समस्या झेल्दै आउनुभएका भकिम्ली डाँडाखानीका बाबुराम पुनलाई १ लाख ५६ हजार ९२० र हल्लेगौंडाका मुक्ती रोका मगरलाई  १ लाख ५६ हजार ९२० हस्तान्तरण गर्नुभएको थियो । भकिम्ली, बरंजा र अर्मनबाट यूकेमा बसोबास गर्नेहरुको साझा संस्था समाजमार्फत संकलन गरिएको ३ लाख १३ हजार ८४० जुटाएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष पुनले तिनगाउँले समाजले शिक्षा, स्वास्थ्य, आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकालाई आर्थिक सहयोग सहित धेरै सामाजिक तथा मानवीय सेवामा सक्रियता देखाएको बताउनुभएको थियो । ‘भकिम्लीबासीको सुखदुखमा तीनगाउँले समाजले सहयोग गरेको छ,‘यो आर्थिकले बिरामीको उपचारमा केही सहज हुन्छ’ अध्यक्ष पुनले भन्नुभयो । दुबै मृगौला पीडितको पोखरामा उपचार भइरहेको छ ।

कार्यक्रममा वडा सदस्य गेमबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो । पीडित बाबुरामका बुबा रत्नबहादुर पुनले सहयोगले छोराको उपचारमा सहज हुने बताउनुभयो । तिन गाउँले समाज यूकेका अध्यक्ष थमबहादुर रोका, उपाध्यक्ष होम बहादुर रोकाले आर्थिक सहयोग गर्ने सबैलाई फोनबाट धन्यवाद दिनुभएको जयन्ती माविका शिक्षक डेकबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

Leave a Reply