नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री थममाया थापाले देशको विकास र नेपाली जनताका लागि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमा सबैभन्दा धेरै कामहरु गरेको बताएकी छन् । ‘जनताको जनवाद जिन्दावाद’ भन्ने मूल नारासहित अखिल नेपाल महिला संघ म्याग्दीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेपालका सबै सरकारहरुमध्ये ओली सरकारले धेरै राम्रा काम गरेको बताएकी हुन् ।
पूर्व मन्त्री थापाले यसअघि पनि ओली सरकारले भारतले नेपालमा लगाएको नाकाबन्दीको कडा सामना गरेको, चीनसँग पारवहन सन्धी सम्झौता गरी अन्तर्राष्ट्रिय व्यापार नाका खोलेको, नवलपरासीमा फलामखानी पत्ता लगाई उत्खनन् प्रक्रिया अगाडि बढाएको जस्ता लोकप्रिय कामहरु गरेको बताइन् । उनले अहिले पनि सरकारले कोरोनाबाट ग्रसित बनेको अवस्थामा १ वर्षको अवधिमा खोप उपलब्ध गराई लगाउने कार्यको सुरुवात गरेको, संविधान संशोधन गरी भारतले मिचेको नेपाली भू–भाग नेपाली नक्सामा गाभेर सार्वजनिक गरेको जस्ता थुप्रै कामहरु गरेको बताइन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा दुई तिहाई मत ल्याई पार्टी एकता गरेर अगाडि बढेको अवस्थामा नेकपाबाटै सरकार परिवर्तनको चलखेल भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको पूर्व मन्त्री थापाको भनाइ छ । उनले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर तथा राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने तयारी गरेपछि अहिलेको सरकारले ताजा जनादेश ल्याउन जनतामा जानका लागि निर्वाचनको घोषणा गर्नु असंवैधानिक कदम हुन नसक्ने बताइन् ।
सोही कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य नवराज शर्माले वर्तमान अवस्थामा कार्यकर्ताहरु अन्यौलमा नबसी जनतामा जानुपर्ने बताए । उनले नेता तथा कार्यकर्ताले भ्रम फिँजाउन नहुने बताउँदै अहिलेको अवस्थामा कार्यकर्ताले नेताहरुलाई पनि सही मार्गमा लाग्ने गरी आवश्यक भूमिका खेल्नुपर्ने बताए । उनले वर्तमान सरकारले विगतका सरकारहरुको तुलनामा धेरै राम्रा कामहरु गरेको भन्दै नेपालमा ओली सरकार ढले पनि ओली युग नढल्ने बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपाल अहिलेसम्म भारतको सामान बिक्री गर्ने थलो रहेपनि चीनसँग नाका खोलेसँगै अन्तर्राष्ट्रिय व्यापारीक सम्बन्ध स्थापना भएको बताइन् । मन्त्री पुनले अहिलेको सरकारले नेपाली जनता र देश विकासका लागि थुप्रै कामहरु गरेको भन्दै नेपालमा ओली सरकारको विकल्प नभएको बताएकी थिइन् ।
नेकपा केन्द्रीय सदस्य एवं म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले संसद विघटनप्रति नेपाली कांग्रेसले बाहिर विरोध गरेको भए पनि भित्रभित्रै ठिकै भएको भन्दै चुनावको तयारीमा लागेको बताए । उनले तत्कालीन ज्ञानेन्द्र राजाले राजनीतिक दलको सबै अधिकारहरु खोसेर चुनावको मिति समेत घोषणा नगरी संवैधानिक ‘कु’ गरेको बताउँदै अहिले ओली सरकारले चुनावको मिति घोषणा गर्नु असंवैधानिक कदम नहुने ठोकुवा गरे ।
कार्यक्रम अनेमसंघ म्याग्दीका अध्यक्ष थमसरा पुनको अध्यक्षता, सचिवालय सदस्य खरमाया बिटालुको सञ्चालन र कोपिला बरुवालको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply