बेनी नगरपालिका-५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले शैक्षिक क्षेत्रको विकास गर्नका लागि नागरिकले राज्यलाई सघाउनुपर्ने बताएका छन् ।

प्रदेश सांसद केसीले विद्यालयको विकासका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउँदै आफूले यसअघि जगन्नाथ र पुलहाश्रमको विकासमा ४० लाख, बेनी–अर्थुङ्गे–पुलाचौर सडक स्तरोन्नतिमा ७५ लाख, सिँचाई योजनाका लागि ५० लाख तथा चालु आवमा पुरुन्डीमा खेलमैदान निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । अहिले देशको राजनीतिले सङ्घीयता नै गुम्ने देखिएकाले संसद विघटन गर्नु संविधान कुल्चिने काम भएको उनले बताए ।सोही कार्यक्रममा बोल्दै पुलाचौर समाज काठमाडौंका सचिव रामप्रसाद पौडेलले अक्षयकोषको वृद्धि गर्नका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।

जनकल्याण माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल बानियाँले विद्यालय सञ्चालनका लागि व्यक्ति एक्लैले केही गर्न नसक्ने बताउँदै सबैको साथ र सहयोगको आवश्यकता रहेको औंल्याए ।

उनले कक्षा ११ र १२ सञ्चालन गर्न स्वदेश तथा विदेशका विभिन्न मुलुकहरुबाट आर्थिक सहयोग सङ्कलन अभियान चलाउन सकिने धारणा राखेका छन् ।शनिबार साधारणसभाको दिनमा मात्रै चारलाख ४० हजार तीनसय १० रुपैयाँ नगद अक्षयकोषमा सङ्कलन भएको छ । साधारणसभामा विद्यालयका अध्यक्ष गोपाल बानियाँले तीनलाख ३३ हजार तीनसय ३३, पूर्व प्रधानाध्यापक खेमराज पौडेलले एकलाख ६१ हजार एकसय ११ र पुलाचौरका बाबुराम भण्डारीले एकलाख ११ हजार एकसय ११ सहयोग गरेकोमा उनीहरुसहित विद्यालयको शैक्षिक विकासमा आर्थिक सहयोग गर्नेलाई विभिन्न चन्दादाताहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा कक्षा ११ र १२ सञ्चालनार्थ अक्षयकोषमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सोही क्रममा अक्षयकोषको व्याजबाट कक्षा ११ र १२ सञ्चालन गर्नका लागि विद्यालयलाई एकलाख ८० हजार रुपैयाँ सहयोग गरिएको छ । यसैगरी कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरुलाई ४१ हजार रुपैयाँ छात्रवृत्ति रकम तथा स्टेशनरीले पुरस्कृत गरिएको थियो । हालसम्म जनकल्याण माविको अक्षयकोषमा बोलेको रकमसहित कुल ४९ लाख पाँचहजार पाँचसय ५५ रुपैयाँ सङ्कलन भएको छ ।साधारणसभामा अक्षयकोषका सचिव शिव बानियाँले प्रगति, कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले आर्थिक र लेखा संयोजक टंकनाथ शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, नृत्य र हाँस्यव्यङ्ग्य समेत प्रदर्शन गरेका थिए ।

Leave a Reply