तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याग्दीको बेनी अस्पतालको भवन चार वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माण व्यवसायीको लापरबाहीका कारण अस्पतालको भवन यतिखेर अलपत्र जस्तै छ । भवन निर्माण स्थल सुनसान छ।

समयमै अस्पतालको भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाभित बनेको छ । अस्थायी संरचनाबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ । १५ शैयाको अस्पाताललाई स्तरवृद्धि गर्दै सुविधा सम्पन्न भवन निर्माण गरी ५० शैयाको अस्पताल बनाउन गुरुयोजना बनाएर भवन निर्माण थालिएको हो ।

२०७६ मंसिरभित्रै निर्माण सम्पन्न गर्ने गरि चारवर्ष अघि ठेक्का सम्झौता भएको अस्पताल भवन निर्माण व्यवसायीको चरम ढिलासुस्तीका कारण गति लिनसकेको छैन । तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ पुस २१ मा निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्षसमेत रहनुभएका रवि सिंह समेतको महादेव खिम्ती, गल्वा रफिना जेभीसँग १८ करोड ९० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

संघीयता कार्यान्वयमा आएपछि सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखरा मार्फत योजना कार्यान्वयन गरिए पनि ५ महिना अघि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन गर्न थालिएको छ ।

ठेक्का सम्झौता भएको एकवर्षपछि अस्पतालको जगबसालिएको थियो । विभिन्न बहानामा निर्माणमा ढिलासुस्ती गरेको व्यवसायीले चार वर्षका अवधिमा आशा लाग्दो काम गरेको छैन । न्यून संख्यामा मजदुर परिचालन गरेका निर्माण व्यवसायीले भवन निर्माणलाई गति दिन सकेको छैन । सरकारी निकायबाट भवन सम्पन्न गर्न पटक पटक ताकेता गरे पनि निर्माण व्यवसायीले कानमा तेल हालेर बसेका छन् ।

गत मंसिरमा बेनी आउनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी निर्माणलाई गति दिन ठेकेदार कम्पनीलाई फोन मात्र निर्दैशन दिनुभए तापनि कुनै सुनुवाइ भएको छैन ।

‘एकवर्ष अगावै ठेक्का सम्झौता अवधि सकिएको हो,निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण भवन निर्माण योजना अलपत्र परेको छ, अस्ताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो ‘‘म्याद थपिएको अवधिबाट थप ९ महिना बितिसकेको छ, चार वर्षमा निकै कम काम भएको छ । यही गति रहे भवन निर्माण सम्पन्न गर्न वर्षौं लाग्न सक्छ ।’’

केही महिना अघि ८÷१० जना कामदार ल्याएर काम गर्न थालेको ठेकेदार अहिले फेरि दुइमहिना यता हराएको उहाँले बताउनुभयो । निर्माणस्थलमा अहिले कामदार छैनन् । समयमा अस्पतालको भवन निर्माण नहुँदा अस्थायी संरचनाबाट स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।

पटक पटक सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई घचघघ्याउँदा पनि भवन निर्माणले गतिलिन नसकेको उहाँको भनाइ छ । चार वर्षको अवधिमा दुई तल्ला ढलान गरिएको छ । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्षले लिएको ठेक्का समेत समयमा नसकिनुले व्यवसायीप्रति नै प्रश्नचिन्ह् खडा भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुखलाई जिल्ला प्रशसनमा डाकेर यसबारेमा छलफल भएको र छिटो भवन निर्माणलाई गति दिन निर्दैशन दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो।

ठेकेदारबीच आपसी लेनदेनका विषयमा अदालतमा मुद्धा परेको र झुक्तानी रोकिएको भन्दै ठेकेदार कम्पनीले निर्माण रोकेको प्रजिअ अधिकारीले बताउनुभयो । आपसी लेनदेनका कारण भवन निर्माणलाई रोक्न नहुने भन्दै चाँढो काम थाल्न निर्दैशन दिएको उहाँको भनाइ छ ।

एक तला अन्डरग्राउन्ड सहित तीनतले भवन निर्माण गर्ने अस्पतालको गुरुयोजनामा उल्लेख छ । पहिलो तलामा ओपीडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने गरि डिजाइन गरिएको छ । नयाँ भवन निर्माण गर्दा बहिरंग, प्रशासनिक, प्रसूति डेण्टल लगायतका सेवा प्रवाह हुँदै आएका पुराना भवन भत्काइएको छ । Source: Gorkhapatraonline.com

Leave a Reply