बेनी नगरपालिका-८,गणेशटोलको भित्री गल्लीमा बस्ने सुनिता परियारले देवताको तस्वीरसँगै राखेर दिनहुँ श्रीमान अजयको पूजा गर्दै स्वास्थ्य लाभको कामना गर्छिन्। दुवै मृगौला फेलभएपछि उपचारको अभावमा कोठमा बसेका अजयको लामो आयु तथा दीर्घायु जीवनको कामना गदैं दैनिक भगवानलाई पुकार गर्ने गरेकी छन् ।

रघुगंगा गाउँपालिका-४ दर्मिजाका अजयको तीन महिना अगाडी दुबै मृगौलामा खरावी देखिएपछि उपचारमा झन्डै ५० हजार खर्च भएपनि थप आर्थिक अभावले पोखराबाट फर्किएर ओछ्यानमै थलिएका छन् ।

‘श्रीमानको उपचारका लागि एक रुपैयाँ पनि छैन्,‘सहकारीबाट ऋण खोजेर उपचारमा खर्च गरेको छु’उनले भनिन् । मृगौला पीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि पोखराका अस्पतालले महङ्गो इन्जेक्सन र नियमित औषधी किन्नुपर्ने भएकाले आर्थिक जुटाएर आउन भनेपछि फर्किएको सुनिताको भनाई छ ।

‘गाउँमा एक टुक्रा जमिन पनि आफ्नो नाममा छैन्,‘सुकुम्बासी जीवन विताइरहेका छौ’ उनले भनिन् । पीडित अजयको घरमा आमाबुबा, तीन दाजुभाई, दुई दिदी बहिनी छन् । सामान्य कृषि पेशामा संलग्न भएपनि बर्षभरी खान पुग्दैन्। सरकारको निशुल्क डायलिसिस सेवा लिन औषधी र इन्जेक्सनका लागि आवश्यक पर्ने भएकाले बाध्य भएर बचाउँन हारगुहार गरिरहेको सुनिताको बताईन् ।

‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन।डायलिसिस गर्नपनि गाह्रो भएको छ।’उनले सबैबाट सहयोग पाए श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको बताईन्। ‘घरमा बृद्ध बुबाआमा हुनुहुन्छ, छोरो बल्ल ५ बर्षको भयो। कमाउने मान्छे कोही छैनन।’ उनले भनिन्।

श्रीमानको उपचारमा भएको सबै पैसा सकिएपछि मासिक ३ हजार कोठा भाडा, छोरालाई पढाउने खर्च र बिहान–बेलुकी हातमुख जोड्न समेत मुस्किल छ । ‘बिरामी श्रीमान पेटभरी खान नपाएर धेरै दिन भोकभोकै सुत्नुहुन्छ,‘उहाँको अवस्थाले मलाई पनि भोक लाग्दैन’ भक्कानिदैं भनिन् ।

जीवनभर एकअर्कालाई सात दिने बाचा कसम खाएकाले श्रीमानलाई मिल्ने भए एउटा मृगौला दिन समेत तयार रहेकी सुनिताले नियमित उपचारमा सहयोगको बिलौना गरिन् । स्थानीय कलाकार समेत रहेकी सुनिताले आफ्नो पेशाबाट आएको केही पैसाले घरखर्च चलाउने गरेकी छन् ।

‘पैसा नभए मृत्यु कुर्नुको विकल्प छैन्,‘थोरै पैसाले श्रीमानलाई जोगाउन नसक्ने अवस्था आएपछि सहयोगका लागि हात थापेको छु’ आँसुले टिलपिल भएका आँखा छोप्दै भनिन् । श्रीमानको समस्याका बारेमा बताउँदै गर्दा सुनिताका आँखा बेलाबेलामा रसाउँथे । खाने, लाउने र कमाउने उमेरमा श्रीमानको जटिल रोगबाट ग्रसित भएपछि निद्रा समेत नलाग्ने र दैनिकी निकै कठिन बनेका छ ।

तत्काल डायलासिस खर्च जुटाउन सकेपनि धेरै राहत मिल्ने पीडित अजयको भनाई छ। ‘धन कमाउन विदेश जाने तयारीमा थिए,‘एक्कासी मृगौलामा समस्या देखियो’ उनले भने । ‘मृगौला फेर्ने चाहाना छ, त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस मात्रै गराउन पाए केही बर्ष बाँच्ने थिए’ अजयले भने । उपचार सहयोगका लागि ओमकुमारी शान्ति कोषले प्रतिबद्धता जनाएपनि सरकारी निकायबाट सहयोगको आश्वासन नआएकाले अलपत्र परेको बताए ।

छोराको जन्मदिनमा चक्लेट
आफ्नो धर्तीमा पाइला टेकेको दिन मिठो खाने चलन छ । तर, सुनिताले ६ बर्षमा प्रवेश गरेको छोरा रोजनको जन्मदिनको अवसरमा बेनी सामुदायिक माविमा बालविकास केन्द्रमा अध्ययनरत साथीहरुलाई चक्लेट बितरण गर्ने पैसा समेत आफन्तलाई मागिन् । छोराको चाहना अनुसार चक्लेट किनेकी सुनिताको अनुहार छोराको जन्मदिनमा पनि उज्यालो थिएन् ।‘पाँचसय रुपैयाँ पनि सापटी मागेर जन्मदिन मनाउनुपर्ने अवस्था छ,‘छोरालाई खुसी बनाउन नसक्ने अवस्थामा पुगेका छौ’ उनले भनिन् ।

आर्थिक अभावका कारण बालविकासमा अध्ययनरत छोरालाई आवश्यक पर्ने पोशाक, शैक्षिक साम्रागी समेत ब्यवस्थापन गर्न समस्या भएको उनले बताईन् । ‘श्रीमानको उपचारसँगै छोरालाई स्कुल पठाउन समेत समस्या भइरहेको छ’ उनले भनिन् । पीडाको पोखरीमा पैडी खोल्न नसक्ने अवस्थामा पुगेको उनले बताईन् । करिब ५ महिनाको कोठा भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताउँदै घरधनीले समस्या देखेर सहयोग गरेको उनको भनाई छ ।

सहयोगका लागि(सुनिताः९८४९३९७८२५)
नामः अजय परियार
प्रभु बैंक खाता नं. १९३०१५४४९९१०००१५मा सहयोग रकम जम्मा गर्न सकिन्छ ।

 

Leave a Reply