म्याग्दीमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राती करिब १० बजे म्याग्दी, बागलुङ र पर्वत जिल्लाको आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी सहित पश्चिम म्याग्दीका ग्रामिण बस्तीसम्म झड्का महशुस गरिएको छ ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार मनाङ जिल्लाको नार भन्ने ठाउँमा केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले भुकम्पको धक्का ९ः५९ मा मापन गरेको छ ।  नयाँ भूकम्प भएकाले थप परकम्पको महसुस हुन सक्ने केन्द्रले जनाएको छ ।

‘आसपासका जिल्लामा धक्का महसुस भएको छ,‘केन्द्रविन्दु नजिक क्षती पनि भएको हुनसक्छ’ प्राविधिक सहायक शर्माले बेनीअनलाइनलाई भने ।विगतका भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको शर्माको भनाई छ । जमिन हल्लिएपछि सर्वसाधारण त्रसित भएका थिए ।

५.३ रेक्टर स्कलेको भूकम्पको धक्का केन्द्रविन्दु आसपासमा धेरै भएको अनुमान गरिएको छ। सामान्यतया ४ रेक्टरस्कल भन्दा माथिका भूकम्पले मानवीय तथा भौतिक क्षतीको जोखिम धेरै हुन्छ । चिनको तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ ।

जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ। मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो ।

Leave a Reply