बेनी नगरपालिका-९, गलेश्वर बृद्धआश्रमका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाइएको छ। कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, एम्बुलेन्स चालक, निजी क्लिनिका स्वास्थ्यकर्मी बाहेक म्याग्दीमा जेष्ठ नागरिक र कारागारका कैदीबन्दीलाई समेत कोरोनाको खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।

‘कैदीबन्दी र आश्रमका बृद्धबृद्धालाई लगाउने कार्य भइरहेको छ,‘पहिलो चरणको आज सकिन्छ’ प्रमुख लम्सालले भने । कैदीबन्दी र ज्येष्ठ नागरिकलाई लगाउने कार्य सकिएसँगै म्याग्दीमा पहिलो चरणको अभियान बुधबार सम्पन्न हुने बताए । कोरोना बिरुद्धको खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले खोप लगाएपछि सुरु भएको थियो । खोप लगाउँदा यदि त्यस्तो गम्भीर खालको असर देखिएमा प्रदेश सरकारले हेलिकप्टरमार्फत बिरामीको उद्दार गरी उपचार गरिने व्यवस्थापन मिलाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप पठाएको थियो । एक भायलमा १० डोज खोप हुन्छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकको भनाई छ । कोभिशिल्ड खोप अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको हो । म्याग्दीमा समान्य साइड इफेक्ट बाहेक खोप लगाउँदा कसैलाई कुनै समस्या देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply