कालीगण्डकी कोरिडोर २२०/१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । योसँगै आज बिहीबार (माघ २२ गते) देखि २२० केभी कुस्मा सबस्टेसन र २२०/१३२/३३ केभी दाना सबस्टेसन पनि सञ्चालन भएको छ ।

दुई सबस्टेसन र प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट भर्चुअलरूपमा उद्घाटन गरेका छन् । हेलिकोप्टरबाट आयोजनास्थल गएर उद्घाटन गर्ने कार्यक्रम रहे पनि नेकपा प्रचण्ड–माधवको नेपाल बन्द घोषणाका कारण प्रधानमन्त्रीले आयोजनास्थल जाने कार्यक्रम स्थगित गरेका हुन् ।

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल भौतिकरूपमा उपस्थित भएका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत उच्चपदाधिकारीको टोली आयोजनास्थल पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सहप्रवक्ता गोकर्णराज पन्थ लगायतको टोली समेत उद्घाटनस्थल कुस्मा पुगेको प्राधिकरणले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोरको पहिलो खण्ड सञ्चालनमा आएपछि त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् आपूर्ति गर्न सहज हुने भएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत निर्माण अगाडि बढाइएको कालीगण्डकी कोरिडोरको पहिलो खण्डमा कुस्मा, दाना सबस्टेसन र दाना–कुस्मा प्रसारण लाइन पर्छन् । सन् २०१६ अप्रिल २४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम पूरा गर्न ३ अर्ब ६७ करोड २३ लाख ३२ हजार ३ सय ७६ रुपैयाँ अनुमान गरिएको थियो ।

भारतको जेभि अफ टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीले अहिलेसम्म ९७ प्रतिशत निर्माण पूरा गरिसकेका छन् । कारिडोर आयोजनामा सरकार र एसियाली विकास बैंक (एडिबी) को संयुक्त लगानी छ । अनुमानित रकमभन्दा केही कममा ठेक्का सम्झौता गरी काम अगाडि बढाइएको थियो ।

दाना सबस्टसन

१०० एमभिए ट्रान्सफर्मर जडित २२०/१३२ केभी सबस्टेसनमा सिंगल फेजको ३३.३३ एमभिए एब थान जगेडा सहित ४ थान जडान भएको छ । ६०० मेगावाट विद्युत् २२० केभी दाना–कुस्मा प्रसारण लाइनमार्फत प्रवाह हुन सक्नेछ । यस्तै, ३०० मेगावाटका जलविद्युत् केन्द्रहरू ३३ केभीमा दाना सबस्टेसनमा आवद्ध गर्न सकिनेछ ।

यसैगरी, १०० मेगावाटका जलविद्युत् केन्द्रहरू ३३ केभी दाना सबस्टेसनमार्फत आवद्ध गर्न सकिने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यस सबस्टेसनबाट गण्डकी प्रदेशको धौलागिरी क्षेत्रको मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ लगायत क्षेत्रमा उच्च गुणस्तरीय विद्युत् प्रवाह गर्न सकिनेछ ।

कुस्मा सबस्टेसन

१०० एमभिए ट्रान्सफर्मर जडान भएको २२०÷१३२ केभी कुस्मा सबस्टेसन माघ ८ गतेदेखि सञ्चालनमा आएको हो । जसमा ३३.३ एमभिएको एउटा जगेडा सहित ४ वटा ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसनमा २२० केभी लाइन तथा ट्रान्सफर्मर वे ८ थान, २२० केभी लाइन तथा ट्रान्सफर्मर वे ३ थान, १३२ केभी लाइन तथा ट्रान्सफर्मर वे ४ थान र १३२ केभी लाइन तथा ट्रान्सफर्मर वे ६ थान जडान गरिएको छ ।

सबस्टेसनबाट करिब १२०० मेगावाट विद्युत् २२० केभी दाना–कुस्मा–न्यू बुटवल प्रसारण लाइनमा प्रसारण हुनेछ । यस्तै, ३०० मेगावाटबराबरका जलविद्युत् केन्द्रहरू १३२ केभीमा कुस्मा सबस्टेसनमार्फत आवद्ध गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । गण्डकी प्रदेशको धौलागिरी क्षेत्रको कालीगण्डकी तथा मोदी बेसिनका सम्पूर्ण जलविद्युत् आयोजनाको विद्युत् यही लाइनमा प्रवाह गरी बुटवलसम्म ल्याउन सकिनेछ ।

दाना–कुस्मा प्रसारण लाइन

२२० केभी दाना–कुस्मा डबल सर्किन प्रसारण लाइन पनि यसअघि नै सञ्चालनमा आइसकेको छ । ३९.६ किलोमिटर क्षेत्रमा ११० वटा टावर निर्माण गरिएको छ । यसको ४ वटा टावरमार्फत ४० मेगावाटको राहुघाटको विद्युत् जोडिढनेछ ।यस प्रसारण लाइनमाफर्त धौलागिरी क्षेत्रका नदी बेसिनबाट उत्पादन हुने करिब ६०० मेगावाट विद्युत् प्रवाह हुन सक्नेछ।

प्रसारण लाइन सञ्चालनमा आइसकेको हुँदा म्याग्दीमा निर्माण भएको ५ मेगावाटको घलेम्दीको विद्युत् जोडिइसकेको छ।यसैगरी, एक महिनाभित्र ४२ मेगावाटको मिस्ट्री खोला र त्यसपछि १३.६ मेगावाटको थापा खोलाको विद्युत् जोडिनेछ । कालीगण्डकी कोरिडोरको दोस्रो खण्ड कुस्मा–न्यू बुटवल ८७ किलोमिटरको काम पनि करिब ६० प्रतिशत पूरा भइसकेको छ । source:urjakhabar.com

Leave a Reply