म्याग्दीमा यो सिजनकै पहिलो हिमपात भएको छ । मौसममा आएको परिवर्तनका कारण यसबर्ष माघ महिनाको अन्तिममा एक्कासि भीषण वर्षा र हावाहुरीसँगै म्याग्दीको सदरमुकाम नजिकका बस्तीहरूको माथिल्लो भेगमा समेत हिमपात भएको हो ।

शुक्रबार विहानैदेखि परेको बर्षासँगै हिमपातका कारण स्थानीयबासीन्दालाई सास्ती भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुइनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नागी लगायतका क्षेत्रमा भारी हिमपात भएको छ ।

यसैगरी बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवा, गाजने, ढोलथान, पात्लेखेतसहितका माथिल्लो क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयको भनाइ छ । जिल्लाको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । लेकाली वस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ ।

हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोभाँडो खुवाउनै समस्या भएको छ । हिमपातपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने यातायात सेवा अवरुद्ध बनेको छ भने सवारीसाधनहरु नचल्दा सडक सुनसान छन् । २०६३ साल फागुन २ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हिमपात भएको थियो । विगत तीनबर्षदेखि जिल्लाको तल्लो क्षेत्रमा हिमापात भइरहेको छ।

Leave a Reply