म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो ।

कटुवाल सङ्घको यसअघिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भएका छन् ।

सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट भएका थिए। सङ्घको सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानियाँ, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रवीण श्रेष्ठलगायत चयन भएका छन्।

महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीलगायत पाँचवटा गाउँपालिका एकाइ समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । विसं २०२७ मा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीका उद्योगी व्यवसायीको छाता सङ्गठन मानिन्छ ।

स्थापनाको ५०औँ वर्षगाठ मनाइरहेको उद्योग वाणिज्य सङ्घको अधिवेशन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटनका क्रममा सङ्घले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मूर्ति अनावरण गरेका थिए ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

पछिल्लो कार्यसमितिले विसं २०७५ लाई म्याग्दी भ्रमण वर्षको रूपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी सङ्घ ९मोना०सँग समन्वय गरेर बेनी–लभ्लीहिल पदमार्ग बनाएको, सङ्घको भवनमा जडीबुटी सङ्कलन केन्द्र बनाएको छ । सङ्घअन्तर्गत मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकास्तरीय बजार एकाइ समितिसमेत गठन भएको छ ।

नवनिर्वाचत अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, ब्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाए । ‘यो पदमा म एक्लै छैन्,‘सबैको सुझाव लिएर अगाडी बढ्छु’अध्यक्ष कटुवालले भने । उनले जिल्लाभित्रका उद्योगब्यवसायीको समस्या र आवश्यकताका बारेमा जानकार रहेको समेत बताए ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्व अध्यक्ष सर्दशनकुमार श्रेष्ठ, जिवनकुमार विश्वकर्माले बधाई तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply