पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ बिलबाङका ७२ बर्षिय खाम बहादुर पुन प्रतिनिधिभा बिघटनको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले आइतबार बेनीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागि भए । जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरू भएको शक्ती प्रर्दशनको दौडधुपमा पनि थकित थिएनन् । यूवाहरूसँगै जिसस सभाहलमा प्रवेश गरेका उनको सक्रियता देखेर पार्टीका नेताकार्यकर्ता समेत चकित थिए ।

बुढो शरीर हिड्न मुस्किल हुदाँ लौरो टेकेर लुखुरलुखुर हिड्नुपर्ने समयमा आन्दोलनका कार्यक्रममा आएका खामबहादुरले पार्टीको कार्यक्रम भएकाले सहभागि हुन आएको बताए। पञ्चायतकालदेखि कम्यूनिष्ट आन्दोलनमा होमिएका खामबहादुरलाई पार्टी विभाजनले मन दुखेको बताए ।

‘बुढेशमालमा आन्दोलन कार्यक्रममा सहभागि हुन बेनीसम्म आएको छु,‘ कम्यूनिष्ट पार्टी फुटेको छ, एमालेको निती र नेताहरु मनपर्छ’ उनले भने । धेरै नबोल्ने खामबहादुरले पार्टी बिभाजनले निराश भएपनि बाँचुन्जेल पार्टीका कार्यक्रममा सकेसम्म सहभागि हुने बताए । तन्नेरी यूवाहरूको जोसिलो भिडमा भेटिएका खामबहादुरले पञ्चायतमा समेत कम्यूनिष्ट आन्दोलनबाट नभागेको बताए ।

उनले वृद्धहरूको अनुभवलाई समेत सुन्ने अवस्था पार्टीमा नभएको बताए । प्रचण्ड–नेपालको आइतबारको सभामा सबैभन्दा पाका खामबहादुरले पार्टी विभाजन भए लगत्तै आफन्त र छिमेकीबाट जानकारी पाएको बताए । खामबहादुरलाई आयोजकले स्टेजमा लगेर सम्मानपूर्वक राखेका थिए ।

दुई ठूला कम्युनिस्ट पार्टी एक भएर काम गरेको हेर्न चाहना झगडाले चकनाचुर परेको भन्दै अन्य ज्येष्ठ नागरिकले समेत दुख ब्यक्त गरेका थिए । बेनीमा आयोजना गरेको बिरोध सभालाई स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेल र नेकपाकी अर्की केन्द्रिय सदस्य रामकुमारी झाँक्री लगायतले सम्बोधन गरेका थिए । नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले पुर्ब एमाले र माओवादी भन्ने पार्टीनै नभएको बताउदै म्याग्दीमा पुराना र अनुभवी कम्यूनिष्ट नेताहरू मुल पार्टी आफ्नो समूहमा रहेको बताए ।

‘बुढापाका प्रतिगमनको सति जानुहुन्न,‘अब हामीले जिल्लाभरको शक्ती विस्तारै देखाउँछौ’ अध्यक्ष पौडेलले भने । जनताको घरदैलोमै पुगेर पार्टीको अभियानका बारेमा जानकारी गराउने बताए । उनले पछिल्लो समय जनलहरबाट आफूँ उत्साहित भएको समेत बताए । नेकपा प्रधानमन्त्री ओली र माधबप्रचण्ड निकट पार्टीका कार्यक्रममा सहभागि हुने बुढापाका कम्युनिष्टले पार्टी विभाजनले मन कुँडिएको बताउने गरेका छन् ।

Leave a Reply