गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शनिबार म्याग्दीको बेनीमा स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण सम्पन्न भएको छ । सरुवा तथा संक्रामक, किटजन्य एवं प्रकोपजन्य रोगहरुको रोकथाम, नियन्त्रण र अभिलेख तथा व्यवस्थापन सम्बन्धमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पछिल्लो समय कोभिड–१९ का कारणले गर्दा सरुवा रोगहरु छाँयामा परेको बताएका छन् । उनले सरुवा रोगहरुको अवस्था हेर्दा कोभिड–१९ भन्दा पनि डरलाग्दा प्रकृतिका रोगहरु नेपालमा रहेको बताउँदै यसको समाधान गर्नका लागि आवश्यक उपायहरु अपनाउनुपर्नेमा जोड दिए ।

प्रजिअ अधिकारीले समुदायमा रहेका घरमा स–साना झ्यालहरु राख्ने र झ्याल बन्द गरी आगो तापेर बस्दा दम तथा टिबीका रोगहरु देखिने गरेपनि सहर, बजारमा भने फरक खालका रोगहरु पाइने गरेको बताए । उनले सङ्कट व्यवस्थापन गर्नुपर्ने क्षेत्र स्वास्थ्य भएकाले आवश्यक योजना बनाएर अगाडि बढ्नुपर्ने भन्दै महामारी नियन्त्रण तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए ।

सोही कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ डाक्टर रामबहादुर केसीले नसर्ने रोग, सडक दुर्घटना तथा मानसिक समस्याको समाधान गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने दायित्व स्वास्थ्यकर्मीहरुको रहेको बताएका छन् । उनले समुदायस्तरमा भएका सरुवा रोगहरुको पहिचान तथा उपचार, नसर्ने रोगको अवस्था पत्ता लगाउन, शुद्ध पिउने पानीको व्यवस्था, बजेट एवं योजना निर्माणलगायत विविध विषयहरुमा छलफल र अन्तत्र्रिmया गर्ने उद्देश्यसहित सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले म्याग्दी जिल्ला दैवी प्रकोपले प्रताडित जिल्ला रहेको बताए । उनले मानवको अन्तिम चुनौती स्वास्थ्य भएकाले अहिले विश्व कोरोनासँग जुधिरहेको बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ डा. केसी, स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. ज्योती रानाभाट, ल्याब टेक्निसियन निरीक्षक सुशीला कार्की, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र परिवार नियोजन सुपरिवेक्षक गणेश सुवेदीले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी सुरत केसी, प्रताप बानियाँ, रामचन्द्र पन्थी, कुमार बानियाँ र सन्तुकुमारी कार्कीले आ–आफ्नो धारणा राखेका थिए । म्याग्दी जिल्लामा गत वर्षको माघ महिनादेखि हालसम्म १ सय १ जना डेंगु संक्रमित र ४४ जनामा स्क्रबटाइफसका संक्रमितहरु रहेको जनाइएको थियो ।

Leave a Reply