देशमै रोजगारी, देशका युवाहरुको लागि यो निकै चुनौतीको विषय हो । वार्षिक रुपमा ५ लाख भन्दा बढी युवाहरुको रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । विदेशमा गई रोजगारीमा लाग्दा गन्न सक्ने युवाहरुलाई मात्र म्यान पावर कम्पनीले भने जस्तो जागिर दिन्छ । अन्य बहुसंख्यक युवाहरुले भने म्यानपावर कम्पनीले प्रतिबद्ध गरेको विपरित काम गरेर बस्न बाध्य हुन्छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरु कोही दुःख पाएर फर्किन्छन् भने कोही काठको बाकसमा । एक देशमा दुख पाए अर्को देश जाने नेपालीको परम्परा नै हो । विदेशबाट फर्केर यही नेपालमा केही गर्छु भन्ने युवाहरुको सङ्ख्या न्युन हुन्छ । गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ । तर म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका दुई दाजुभाइ भने गाउँमै रमाउन थालेका छन् । भारतीय सेनाबाट रिटायर भएका बिरबहादुर खत्री र धेरै देशमा गई हण्डर खाएर फर्किएका हरिबहादरु खत्री दुई दाजुभाइ अहिले गाउँकै व्यवसायमा रमाएका छन् ।

वैदेशिक रोजगारबाट पिडा भोगेका हरिबहादुर अहिले गाउँमै रेष्टुरेण्ट व्यवसाय गरेर परिवारसँग रमाएका छन् । भारत, थाइल्यान्ड , सिँगापुर , मलेसिया, कतार, दुबई लगायतका देशहरु गएका हरिबहादुर जुन सोचले उनी बिदेश गएका थिए, ती सोचहरु पूरा हुन सकेनन् । त्यस लगत्तै उनी प्राय नेपाली विद्यार्थीहरुको रोजाइको गन्तव्य अस्ट्रेलिया पनि गए तर कतैबाट पनि उनको मन मानेन । त्यहाँको दुख देखेर उनी हैरान परे पछि उनी बेलायत पनि गए । कुनै देश पनि फलदायी नभएको कारणले उनी नेपाल फर्किए । विदेशको दुःख देखेका उनले नेपालमै केही गर्छु भन्ने सोच बनाइरहेका थिए । के गर्ने ? के नगर्ने ? भएको अवस्थामा भारतीय सेनाबाट निवृत्त हुन लागेका उनका दाइ बिरबहादुरले ‘भाइ म नेपाल फर्कदैछु, नेपालमै केही गर्नुपर्छ’ भनेर भने । यस पछि हरिबहादुरलाई नेपाल मै केही गर्नुपर्छ भन्ने सोच पलायो र दाजुलाई कुरेर बसे ।

बिर बहादुर नेपाल आएपछि परिवारको जिम्मेवारी निभाउदै भाइ संग फरक तरिकाले रेष्टुरेण्ट व्यवसाय गर्ने तयारी थाले। फलस्वरुप करिब ७० लाखको लागतमा बेनी नगरपालिका १ रत्नेचौरमा ‘चिता हाउस’ रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याएका छन् ।दाजु बिर बहादुरका अनुसार दैनिक नयाँ नयाँ ग्राहकहरु आउने गरेका छन् । यस रेष्टुरेन्टमा हप्ताको शुक्रबार र शनिबार अट्नै नसक्ने गरी ग्राहकहरु आउने गरेका छन् ।

यो समयमा २०० देखि ३०० ग्राहक भएकाले होटलमा रहेका ६ जना कर्मचारीलाई सेवा प्रदान गर्न हम्मे पर्ने उनी बताउँछन् । तर पनि सेवा लिन जाने ग्राहकहरुसंग मिठो बोलेर राम्रो सेवा दिने गरेको उनी बताउँछन् । बिर बहादुर आफै जस्तो सुकै खाना तयारी गर्नमा खप्पिस रहेका छन् । उनी भारतीय सेनामा रहेर लामो समयसम्म ‘सेफ’का रुपमा कार्यरत थिए ।

‘हाम्रो समाजमा विदेश जान लाग्दा लाखौँ रकम सापटी पाइन्छ तर यहाँ केही गर्छु भन्दा लगानी गर्नका लागि सापटी पाउन गाह्रो भएको छ । लगानीका लागि न समाजले पत्याउँछ न बैंकले ।’

यही कुरा मनमा लिदै हरि बहादुर दुखेसो पोख्छन् । हाम्रो समाजको यथार्थ पनि यही भएको उनी बताउछन् । लामो समयसम्म विभिन्न देशहरु चाहार्दा आफूलाई कतैबाट पनि सन्तुष्टि नमिलेको र अन्त्यमा आएर नेपालमै रेष्टुरेन्ट खोलेको उनी बताउछन् । उनी भन्छन् ‘म वैदेशिक रोजगारीका लागि एसिया, अफ्रिका, अमेरिका सम्म पुगँे, अहिले आएर आफ्नै देशमा, आफ्नै व्यवसाय गर्दा निकै खुसी र सन्तुष्ट छुु ।’ ‘यहाँ आउनेलाई पनि मेरा सबै अनुभवहरु सुनाउँछु । रेष्टुरेन्टमा आउने जो कोहीले पनि फरक अनुभुति भएको महशुस गर्छन्’ उनको भनाइ छ ।


३०० जना सम्मलाई पार्टी गर्न सक्ने स्थान, २० जना सम्मलाई आवासको पनि व्यवस्था रहेको उक्त रेष्टुरेण्टमा सबै व्यवस्थापन गरी व्यवस्थित हलको पनि निर्माण गरिएको छ ।
रेष्टुरेन्टमा आउने ग्राहकहरुले प्रायः जसो त्यस स्थानको लोकल परिकारहरुको स्वाद चाख्ने गरेका छन् । उक्त रेष्टुरेन्टमा अहिले बागलुङ, पर्वत, म्याग्दी लगायत अन्य जिल्लाका ग्राहकहरु आउने गरेका छन् ।


सडक र बजार क्षेत्रबाट केही बाहिर भएकाले यस रेष्टुरेन्टमा चहल पहल बढी रहेको छ । हरिबहादुर भन्छन् ‘बजार क्षेत्रका रेष्टुरेन्टहरुमा भन्दा ग्रामीण क्षेत्रका रेष्टुरेण्टमा अर्गानिक खानाका परिकार पाउने हुँदा यहाँ नियमित ग्राहकहरु आउने सम्भावना बढी रहन्छ । त्यसै गरी शुक्रबार र शनिबारको बिदा मनाउनको लागि मानिसहरु आजभोलि एकान्त क्षेत्र खोज्छन्, त्यस कारण हामीहरुले सबै कुराहरु ध्यानमा राखी यस ठाउँमा रेष्टुरेन्टको सुरुवात गरेका हौँ’ ।

उनी भन्छन्, ‘यस रेष्टुरेण्टको पछिल्लो समयको मुख्य आकर्षण भनेको क्याम्प फाएर पनि हो । क्याम्प फाएरको लागी हामीले २ वटा स्थान बनाएका छौं ।’ आगामी दिनहरुमा थप व्यवस्थापन गर्दै जाने सञ्चालकहरुको भनाइ छ । आफ्नै जग्गामा रेष्टुरेण्टको सुरुवात गरेका खत्री दाजुभाइ नेपालमा पनि केही गर्न सकिन्छ भन्ने उदारणीय पात्र बनेका छन् । Source: uttarganga.com

Leave a Reply