बेनी नगरपालिका-८,बेनीबजारकी लक्ष्मी श्रेष्ठले आफ्नो ८ वर्षीय बौद्धिक अपाङ्गता भएका १२ बर्षिय छोराको परिचय पत्रका लागि चिकित्सकको प्रमाणित गर्न बेनी अस्पतालमा पुगिन्। अस्पतालको बहिरंग सेवा (ओपीडी) मा रहेका चिकित्सकले प्रमाणितका लागि आवश्यक उपकरण नभएकाले पोखरा जान अनुरोध गरे। छोरा आकाश श्रेष्ठलाई देखाउँदै चेकजाँच गरी समस्या लेखिदिन अनुरोध गर्दा समेत चिकित्सकले आनाकानी गरे ।

परिचयपत्रको अभावका कारण समस्या झेल्दै आएकी लक्ष्मी तत्कालै बेनी नगरपालिकामा पुगेर समस्याका बारेमा जानकारी गराईन्। बौद्धिक अपाङ्ता भएकालाई चिकित्सकको प्रमाणितमा नगरपालिकाले परिचयपत्र वितरण गर्ने प्रावधान रहेपनि लक्ष्मीले आफ्नो छोराको परिचयपत्र पाउन सकिनन् । जनप्रतिनिधि र चिकित्सकले आफ्नो छोरा बौद्धिक अपाङ्ता भएको स्वीकार गर्न आनकानी गरेको भन्दै लक्ष्मीले दुखेसो पोखिन् ।

बुधबार सदरमुकाम बेनीमा बौद्धिक अपाङ्ताका अभिभावक संघले आयोजना गरेको पत्रकार छलफलमा राज्यबाट सहायता पाउन सूचीकृत अर्थात् परिचयपत्रका लागि स्थानीय सरकार नै सहयोगि नभई सास्ती बन्दै गएको अभिभावकले गुनासो गरेका थिए ।‘संविधानले दिएको सुविधा माग्न समेत भिक मागेजस्तो भएको छ,‘जनप्रतिनिधिले समेत आश्वासन मात्रै दिनुहुन्छ’ अध्यक्ष यामबहादुर बानियाँले भने ।

‘प्रक्रियाबाटै दिन सकिने परिचयपत्रका लागि चुनौतीको पहाड खडा गरिन्छ,‘अभिभावकको समस्या बुझिदिने जनप्रतिनिधि पाइएन्’ बानियाँले भने । म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले बौद्धिक अपांगता, अटिजम र डाउनसिन्ड्रो समस्या भएकाहरूको बारेको कमजोर बुझाइका कारण परिचयपत्रकै संघर्ष गर्नुपरेको बताए ।

अपाङ्ता भएका बालबालिका अध्ययनरत स्रोतकक्षामा समेत प्रयाप्त रेखदेख र संरक्षण नहुने गरेको अभिभावको गुनासो छ । कार्यक्रममा बेनपा–६ का वडा अध्यक्ष कृष्णसिंङ बानियाँ लगायत बौद्धिक अपाङ्ता भएकाका अभिभावक, बौद्धिक अपाङ्ता संघ म्याग्दीकी अध्यक्ष ममता पौडेल लगायतको उपस्थिती रहेको थियो ।

केहीले पाए, कोही अझै गुनासो पोख्दै
बेनी नगरपालिका–१,का सञ्जय थापा मगरले बेनी अस्पतालका चिकित्सकले प्रमाणित गरेपछि गएको कात्तिक महिनामा नगरपालिकाबाटै परिचय पत्र पाए । अभिभावक अशोक थापा मगरले अस्पतालबाट समेत सजिलै प्रमाणित गरेर नगरपालिकाबाट परिचय पत्र लिएको बताए ।

‘अस्पतालमा सजिलो भयो, नगरपालिका भित्र झन्झट’ उनले भने । अपाङ्ताको समस्याका बारेमा धेरै चिन्ता नलिने कर्मचारी र जनप्रतिनिधि भएकाले पनि पाँचदिन लगाएर परिचय पत्र लिएको बताए ।उनले करिब २ घण्टाको कामका लागि पाँचदिन लगाउनुपरेको बताए । नगरपालिकाकी उपमेयर सञ्जु बरुवालको अध्यक्षतामा रहेको समितिले अपाङ्ता परिचय पत्र वितरणमा सघाउने गरेको छ ।

भौगोलिक विकटताका कारण सदरमुकामसम्म जान नसक्ने अवस्थामा रहेका अपाङ्ता भएकाले चिकित्सकको प्रमाणको अभावमा बषौंदेखि परिचयपत्रबाट बन्चित छन् । म्याग्दीमा हालसम्म ६८ जना बौद्धिक अपाङ्ताका अभिभावक संघको सम्पर्कमा रहेका छन् । बेनी नगर सहित जिल्लाका पाँचवटै गाउँपालिकामा समस्या रहेको अभिभावकको भनाई छ । क

कतै सहजै, बेनीमा झन्झट
लम्जुङ जिल्लाको सन्दरबजार नगरपालिकाले बौद्धिक अपाङ्गता परिचय पत्रका लागि अभिभावकले निवेदन दिदाँ वित्तिकै प्रक्रिया पुरा गरी उपलब्ध गराउँछ ।बौद्धिक अपाङ्ताका अभिभावक कला सुबेदीले सुन्दरबजार नगरपालिकाले परिचय पत्र सहजै दिएको बताईन्। ‘उता सहजै पाइन्छ, यहाँ अचम्मै रैछ’ उनले भनिन्।बौद्धिक अपाङ्ताका बारेमा बेनी नगरपालिकाले अभिभावकलाई दिएको सास्ती सुनेर अचम्मित भएको बताईन् ।

बौद्धिक अपाङ्गताका बारेमा म्याग्दीका सरकारी निकायबाट प्राप्त हुने सुविधा सहजै पाउन नसकेको अवस्थामा अर्को जिल्लाको स्थानीय तहबाट सहजै पाउने अवस्था रहेको बताए । ‘मैले निवेदन दिएको थिए,‘परिचयपत्र लिन आउनुहोस् भन्दै बोलाउनुभएको थियो’ उनले भनिन् । म्याग्दीमा बौद्धिक अपाङ्गता भएका अभिभावक एकजुट भएर सबै निकायमा छलफल गर्नुपर्ने बताईन् ।

बेनी अस्पतालले अव सहज बनाउने
बौद्धिक अपाङ्ता भएकालाई परिचय पत्रका लागि चिकित्सकको प्रमाणित गर्न सहज वातावरण बनाउने अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अपाङ्ता परिचय पत्रमा सामान्य कमजोरी भएपनि चिकित्सकलाई समस्या हुने गरेको बताउँदै बौद्धि अपाङ्ता भएकालाई सहज वातावरण बनाउने प्रतिबद्धता जनाउँदै थप जानकारी र सहजिकरणका लागि चिकित्सकसँग छलफल गर्ने बताए । उनले अपाङ्ता परिचय पत्रका लागि चिकित्सकले कानुनी प्रक्रियाबाट काम गर्नुपर्ने भएपनि थप सहज वातावरण बनाउन बिहिबारदेखि नै काम गर्ने बताए ।

Leave a Reply