मुस्ताङ र मनाङमा व्यवसायिक च्यांग्रा पालन गर्न सकिन्छ । विश्व बैंकको १ सय १५ मिलियन अमेरिकी डलर ऋण सहयोगमा नेपाल सरकारको नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाले पशु सेवालाई सुदृढीकरण गर्न लागेको छ।

नयाँ प्रविधिको माध्यमबाट उत्पादक र उत्पादकत्व वृद्धि, मूल्य शृंखलाको विकासका साथै जलवायु अनुकुलन प्रविधिको विकास र उपयोग गर्ने उद्देश्यले कार्यक्रमअघि बढाइएको छ ।

परियोजनाको यो कार्यक्रम ०७४/०७५ देखि कार्यान्वयनमा ल्याइएको छ । २८ जिल्लाका २ सय ९० पालिकामा यो सेवा विस्तार भइसकेको छ । आयोजनाका मोरङ, पोखरा, हेटौडा र बुटवलमा परियोजनाका विकेन्द्रित सहयोग इकाइ छन्।

यसै वर्षदेखि हिमाली जिल्लामा व्यवसायिक च्यांग्रा पालन सुरु गर्ने तयारी छ । परियोजनामार्फत च्याङग्राको मूल्य शृंखला विकास, दुग्ध मूल्य श्रंखला विकासका लागि करोडसम्मको अनुदान दिइने बताइएको छ ।

मुस्ताङ र मनाङमा पस्मिना उत्पादन, पस्मिना उद्योग सञ्चालन र यसको बजारीकण गरी हिमाली क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनाले यो काम अघि बढाउन लागेको परियोजना इकाइ पोखराका पशु विकास अधिकृत हुमनाथ अर्यालले जानकारी दिए ।

परियोजनाले मनाङ र मुस्ताङका किसानलाई लक्षित गरी प्रस्ताव आह्वानसमेत गरिसकेको छ ।

व्यवसायिक च्यांग्रा पालनका लागि मुस्ताङ र मनाङमा सामाजिक परिचालकसमेत खटाइसकेको अर्यालले बताए । परियोजनाले मुस्ताङ र मनाङमा च्यांग्रा पालनबाट दुग्ध उत्पादनतर्फ ५०, मासु उत्पादनतर्फ ५० र पस्मिना उत्पादनतर्फ ५० कोटा गरी १ सय ५० कोटा निर्धारण गरेको छ।

कार्यक्रममा छनौट गरिएका मूल्य शृंखलाका आधारमा च्यांग्रा र दूध आयात प्रतिस्थापन र पस्मिनाको निर्यात प्रर्वद्धनमा सहयोग गर्ने लक्ष्य परियोजनाले लिएको छ ।

च्याङ्ग्रा पालन गर्न चाहने समूह र सहकारीलाई परियोजनाले तोकेको मापदण्ड अनुसार ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । पशु विकास अधिकृत अर्यालले कुनै समूह वा सहकारीले पेश गरेको प्रस्तावका आधारमा बढीमा १ करोडसम्म अनुदान उपलब्ध गराइनेछ ।

व्यवसायिक च्यांग्रा पालन गर्न चाहने व्यवसायीले लगानीको ५० प्रतिशत अनुदान, ३० प्रतिशत बैंकको ऋण र २० प्रतिशत समूह वा संस्थाको लगानी हुनुपर्ने व्यवस्था छ ।

मुस्ताङमा ३५ समूह तथा सहकारीले कागजपत्र पेश गरिसकेका छन् भने मनाङबाट ९ समूहले कागजपत्र पेश गरेका छन् । परियोजनाका सामाजिक परिचालक एकदेव आचार्यका अनुसार मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाबाट २२ समूह, वारागुङ मुक्तिक्षेत्र गापाबाट १२ समूह र घरपझोङ गापाबाट १ समूहले प्रस्ताव पेश गरिसकेका छन् ।प्रस्तावको मूल्यांकन प्रक्रिया बढिसकेको छ । परियोजनाले छानेका समूहसँग सम्झौता गरी १ महिनाभित्र कार्यक्रम अघि बढाइने सामाजिक परिचालन आचार्यले जानकारी दिए ।

च्याङग्रा पालन गर्ने समूहलाई कृषक पाठशाला, तालिम तथा पशुपालन अभिमुखीकरणसमेत दिइनेछ । परियोजनाले १ सय ५० कोटा तय गरेको भए पनि मनाङ र मुस्ताङबाट हालसम्म ४४ समूहले मात्र आवेदन बुझाएका छन् ।हिमाली क्षेत्रका पशु पालकले पशुपालनलाई जीविकोपार्जनको माध्यम बनाउँदै आएका छन् ।

 

Leave a Reply