बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा म्याग्दीका विभिन्न संघसंस्थाले विरोध प्रर्दशन गरेका छन् । एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा म्याग्दीमा क्रियाशिल राजनीतिक दल, महिला संघसंस्थाले सदरमुकाम बेनीमा विरोध प्रर्दशन सहित घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सदरमुकाम बेनीसँगै आसपासका ग्रामिण क्षेत्रबाट समेत आएका महिलाले देशभरी बलात्कारका घटनाले महिलाहरु असुरक्षित भएको बताउँदै सरकारलाई कडा कानुन बनाउन समेत अपिल गरेको लायन्स क्लव अफ बेनी महारानीकी अध्यक्ष संगिता श्रेष्ठले बताउनुभयो ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । ‘देशभित्रै नारी असुरक्षित हुने अवस्था आएको छ,‘कडा कानुनबाटै दोषीलाई कारवाही हुनुपर्छ’ महिला अधिकारकर्मी ज्योती लामिछानेले भन्नुभयो ।

उहाँले बलात्कार र महिला हिंसा बिरुद्ध वृहत् नागरिक आन्दोलनको आवशयकता रहेको बताउनुभयो । विगतमा समेत निर्मला पन्त हत्याकाण्डमा संलग्नको पहिचान नभएको र देशभर धेरै चेलीहरुको बलात्कार र हत्या भएको बताउँदै देशभरी नै शसक्त आन्दोलनको समेत आवश्यकता रहेको म्याग्दीमा महिलाअधिकारकर्मीको भनाई छ । विरोध प्रर्दशनमा उत्रिएका महिलाहरुले बेनीबजार परिक्रममा गरी विरेन्द्रचोकमा विरोध सभाको आयोजना गरेका थिए ।

Leave a Reply