पर्वत जलजला गाउँपालिका-४ का ३३ वर्षीय रामबहादुर दमाई र पोखरा नयाँबजारकी ३५ वर्षीया सन्तु जलारी १७ वर्ष अघिदेखि सँगै बस्न थालेका हुन् । वैदेशिक रोजगारिको सिसिलामा कुबेत र कतार होमिएका उनीहरुबिच सामान्य कुराकानीबाटै प्रेम झाँगिंदै गयो । दुबै आ–आफनो पूर्वश्रीमान र श्रीमति त्यागेर सँगै बस्न थाले । कानुनीरुपमा विवाह नगरेपनि दुबै पोखराको नयाँबजार शन्तिमार्गमा होटल व्यवसाय गरेर बसिरहेका थिए ।

सानोतिनो व्यवसाय संचालन गरेर बसेका दुबैले पर्वत जलजला गापा ४ मोहनचोकमा ७ वर्षअघि संयुक्तरुपमा १५ लाखमा जग्गा किने । दुखजिलो गरेर जब उनीहरुले सम्पत्ति जोडे अनि सुरु भयो उनीहरुबीच खटपट । र, सोही खटपटकाकारण फागुन २७ गते सन्तुले ज्यान गुमाइन् । दुबैबीचको सम्बन्ध चिसिँदै गएपछि सन्तु र राम ८ महिना अघिदेखि बेग्लाबेग्लै बस्न थालेका थिए । त्यसबीच जग्गाको धितो राखेर निकालेको रिनको किस्ताले झन् खटपट बढ्न थाल्यो ।

फोनमा होस् वा बैंकमा, किस्ता तिर्न आउँदा उनीहरुबीच दिनप्रतिदिन विवाद बढ्दै गयो । विवादकै क्रममा रामले जग्गा बेच्न भनि सन्तुलाई पर्वत बोलाए । रामले बोलाएपछि सन्तु आमासँगै अघिल्लो मंगलबार बिहानै पर्वत हिडिन् । सन्तुलाई आमासँगै देखेपछि रामले जलजला गाउँपालिकासम्म हिड्न गाह्रो हुने भन्दै आमालाई त्यही रोकी सन्तुलाई लिएर गए । सन्तुकी आमालाई रामले नातेदारको जिम्मा लगाए । करिब १२ बजेको समयमा छोरीसँग छुटेपछि दिउँसो ३ बजेसम्म उनले छोरीको खबर पाइनन् ।

त्यतिन्जेलसम्म रामले नजिकैको धुले पाल्सिङ् सामुदायिक जंगलमा सन्तुको हत्या हत्या गरिसकेको थिए । अन्दाजी साढे २ बजे सन्तुको टाउकोमा ढुगांले हिर्काएर हत्या गरेपछि रामले जिल्ला प्रहरी कार्यालय पुगेर अपराध स्वीकारेका थिए । उक्त घटनाबारे सन्तुकी आमाले ३ बजे आाफन्तमार्फत थाहा पाइन् । सन्तुको हत्यामा अन्य व्यक्तिको समेत संलग्नता रहेको आमाको आशंका छ ।

रामबहादुरले आफ्नो छोरीलाई मार्ने योजना अनुसारनै पर्वत बोलाएको उनले दावी गरिन् । हत्या स्वीकार्दै राम प्रहरी कार्यालय पुगेपछि मृतकको परिवारले बुधबार साँझ पोष्टमार्टमपश्चात् शव दाहसंस्कार गरेको छ ।
जलजलामा किनेको जग्गामा आफ्नो २ लाख रुपैयाँ परेको भन्दै मृतककी आमाले उक्त रकम पाउनु पर्ने बताएकी छिन् । त्यस्तै, पहिलो पतिबाट मृतक सन्तुको २ छोरा रहेकाले उक्त जग्गाको आधा भाग उनीहरुले पाउनु पर्ने सन्तुकी आमाले माग गरेकी छिन् ।जिप्रका पर्वतले रामउपर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । रिना थापाको सहयोगमा

Leave a Reply