विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तथा लामो समयसम्म जारी लकडाउनका कारण बन्द तातोपानी कुण्ड सञ्चालनमा आएसँगै पर्यटक आगमन बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीसँगै आन्तरिक पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको हो । गएको माघ १ गतेदेखि म्याग्दीसहित बाहिरी जिल्लाका सर्वसाधारण, नागरिकलाई लक्षित गरी कुण्ड खुलेसँगै पछिल्लोपटक तातोपानी क्षेत्रमा पर्यटकको चहलपहल बढेको जनाइएको छ ।

अहिले कुण्डमा दैनिक ४ सयजना महिला तथा पुरुषहरुले स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । उनका अनुसार कुण्डमा हाल नेपालको जुम्ला, दाङ, रामेछापलगायत जिल्लाहरुबाट बिरामीहरु डुब्न आएका छन् । तातोपानी कुण्ड खुलेसँगै त्यहाँका होटलहरु भरिभराउ भएको कुण्डले जनाएको छ ।

सामान्यतयाः तातोपानीको प्रयोगले मानिसको स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । सोलार तथा बिजुलीको प्रयोगबाट तताएको तातोपानी र प्राकृतिक तातोपानीको कुण्डमा नुहाउनु धेरै फरक हुन्छ ।

जमिन मूनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानीको कुण्ड म्याग्दीमा रहेको छ । तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको अन्य ठाउँमा पनि तातोपानीका कुण्डहरु रहेका छन् । पछिल्लो समय कुण्डमा आउने बिरामीहरुको सङ्ख्या बढेको हुँदा कुण्ड आसपासको क्षेत्रमा थप पूर्वाधारको समेत विकास भैरहेको छ । लकडाउनपछि पुनः तातोपानी कुण्ड सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल बढेको होटल व्यवसायीहरु बताउँछन् ।

Leave a Reply