गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिवल प्रतियोगितामा म्याग्दीले विजय सुरुवात गरेको छ । पोखरामा जारी प्रतियोगितामा पुरुषतर्फ म्याग्दीले बागलुङ र लमजुङलाई पराजित गरेको छ भने महिलातर्फ नबलपुरलाई पराजित गदैं दुवै समुह क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा उपाधीको दाबेदार मानिएको बागलुङलाई म्याग्दीले १ का बिरुद्ध दुई सेट र लमजुङलाई सोझो सेटमा पराजित गरेको म्याग्दी भलिबल टोलीका ब्यवस्थापक राजकुमार भण्डारीले जानकारी दिए । उनका अनुसार महिलातर्फ नवलपुरलाई सोझो सेटमा पराजित गरेको छ ।

म्याग्देली टोलीलाई विभिन्न ब्यक्ति र संस्थासँग चन्दा संकलन गरी पोखरामा एक सातासम्म लगातार बन्द प्रशिक्षणको समेत ब्यवस्था गरिएको थियो । महिला समुहको नेतृत्व नेपाली राष्ट्रिय महिला भलिबलकी क्याप्टेन र पुरुष तर्फ क्षत्रीय खेलाडी सुजन चोखालले नेतृत्व गरेका छन् । म्याग्देली टोलीले यसपटक उपाधीका लागि प्रशिक्षण समेत गरेको टोलीका प्रशिक्षक तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार क्वाटरफाइनलको खेलले म्याग्देली टोलीलाई विजयका लागि थप सहज वातावरण बनाउने छ । भोली हुने क्वाटरफाइनल खेलमा पुरुषतर्फ कास्की र महिलातर्फ स्याङजासँग भिड्ने छ । यसपटकको प्रतियोगितामा म्याग्दीलाई उपाधी दिलाएर समग्र प्रदेशभित्र म्याग्दीलाई भलिवल प्रतियोगिताका लागि हब’का रुपमा सन्देश दिने तयारीमा म्याग्देली टोली छन् । प्रतियोगितामा मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि भएका छन ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।

Leave a Reply