बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई म्याग्दी समाज न्यूर्योकले सम्मान गरेको छ । बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी संस्थाका नेपाल प्रतिनिधि पुर्णबहादुर पुन र बरंजा भकिम्ली माईटी कुटुम्ब समाजका सल्लाहाकार क्या. कर्णबहादुर रोकाले ४ लाख २० हजार नगद र सम्मानपत्रले सम्मान गरेका छन् ।

सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रममा बरंजा भकिम्ली माईटी कुटुम्ब समाजका सल्लाहकार रोकाले सपनाको अभियान र सम्मानले म्याग्देलीको शिर उच्च भएको बताउँदै आफ्नो अभियानलाई निरन्तरता तथा सर्तकता आवश्यकता रहेको बताए ।

सम्मानित भएपछि रोकाले आफ्नो यात्रामा अवरोधको प्रयास भइरहेको बताउँदै समाज र सहकार्यका लागि निरन्तर सक्रिय भएर लाग्ने बताईन् । ‘मैले आफ्नो यात्रालाई निरन्तरता दिन्छु, विश्वभरीबाट प्राप्त साथ र सहयोगले उर्जा थपिएको छ’ रोकाले भनिन् ।

उनले आफ्नो जन्मभूमिबाट हरेक समय भइरहेको सहयोगले समेत थप जिम्मेबारी थपिएको बताईन् । कार्यक्रममा म्याग्दी समाजले सपनाको उच्च शिक्षाका लागि ३ लाख र सपनाको चाहनाः समृद्ध नेपाल नामक संस्थामा १ लाख २० हजार सहयोग गरिएको संस्थाका सचिव याम पुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

बेवारिसे शव तथा बेसाहाराका तीनबर्ष देखि सक्रिय सपनाको अभियानलाई थप सहज र शैक्षिक गतिविधिलाई निरन्तर दिने गरी सहयोग गरिएको संस्थाले जनाएको छ ।

सम्मान कार्यक्रममा सम्मानित सपनाका बुबाआमा, काठमाण्डौमा रहेका मंगला गाउँपालिका बरंजाबासी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको स्वागत तथा जानकारी संस्थाका नेपाल प्रतिनिधि पुर्णबहादुर पुन र सञ्चालन पत्रकार हरिकृष्ण गौतमले गरेका थिए ।

सोही अवसरमा अमेरिकाबाट संस्थाका अध्यक्ष भविन्द्र शेरपुञ्जाले सपनाको शैक्षिक प्रगतिका लागि भविस्यमा पनि निरन्तर सहयोग गर्ने बताएका थिए । म्याग्दी समाज न्यूर्योकले बर्षेनी लाखौं सहयोग गर्ने गरेको छ ।

Leave a Reply