एउटा पूरानो भनाई नै छ,‘पीडामा साथ दिनु खुशीमा साथ दिनु भन्दा धेरै महत्वपूर्ण हुन्छ’ । जसले पीडा र समस्या समाधानमा साथ दिन्छ त्यो साथ र सहयोग जिवनभर अविस्मरणीय रहन्छ । त्यस्तै भएको गुल्मीका एक बाख्रापालन कृषकलाई ।

आगलागीबाट गोठ तथा बाख्रा जलेर लाखौंको क्षतिबाट पीडित बनेका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–३, हर्राचौरका वीरेन्द्र शाहलाई म्याग्दीका युवा कृषकले बाख्रा तथा नगद सहयोग गरेका छन् ।

अज्ञात समुहले आगो लगाएर क्षती पु¥याएका कृषक शाहको पीडा सहन र पीडासँग लड्न बेनी नगरपालिका–१, रत्नेचौरस्थित हुलाकेडाँडाका नरबहादुर थापा, बेनपा–३, भकिम्लीका धनबहादुुर श्रीष, ४ नम्बर वडा डाँडाखेतका महेन्द्र बानियाँ र ६ नम्बर वडा चुत्रेनीका कृष्ण मल्लले एकएक वटा बाख्रा सहयोग गरेका छन् ।

यसैगरी युवा व्यवसायी तथा बाख्रापालन व्यवसाय सुरु गरेका बेनपा–६, का नारायण जिसीले नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै पीडित युवालाई बागलुङका चिरञ्जीवी केसीले पनि एकवटा बाख्रा सहयोग गरेका छन्।

गुल्मीबाट बेनी आएका शाहलाई कृषकहरुबाट संयुक्त रुपमा बाख्रा र नगद सहयोग हस्तान्तरण गरिएको थियो । आगलागीबाट ठूलो क्षति व्यहोरेका शाहलाई व्यवसायमा पलायन हुनबाट जोगाउन आफ्नो क्षमता अनुसारको सहयोग गरेको बाख्रापालक कृषक धनबहादुर श्रीषले बताए ।

भर्खरै व्यवसायलाई विस्तार गर्न ठूलो लगानी गरेको अबस्थामा गोठ र बाख्रा सबै जलेर नष्ट भएकाले शाहलाई पुनः पहिलाकै अवस्थामा फर्कन राहतसँगै हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरी देशभरका बाख्रापालक कृषकमा नयाँ सन्देश प्रवाह गरेको म्याग्दीका कृषकहरुको भनाई छ ।

फर्ममा लागलागीबाट ठूलो क्षति व्यहार्नुपरेको अबस्थामा आफ्नो व्यवसायलाई पुरानै अबस्थामा फर्काउन म्याग्दीका बाख्रापालक कृषक दाजुभाइबाट पाएको सहयोगले आफूलाई हौसला थपिएको पीडित शाहले बताए ।

‘सुखमा साथ दिने हजारौं भेटिन्छन्,तर, म्याग्दीबाट दुःखमा पनि साथ पाएको छ’कृषक शाहले भने । उनले बाख्रापालन ब्यवसायबाट कमाउने देखेर ध्वस्त बनाएकाहरुलाई बाख्रापालनबाटै थप चुनौती दिने समेत बताए ।

‘दुस्मन केही हुन्छन,‘साथ दिने हजारौं भेटिन्छन्,यो सहयोगले धेरै शक्ति मिलेको छ’ शाहले भने । गएको पुस २३ गते राती सवा ९ बजेतिर एक्कासी फार्ममा आगलागी हुँदा त्यहाँ रहेका २६ वटा बाख्रा मर्नुका साथै ३२ लाख रुपैयाँ बराबरको क्षति पुगेको पीडित कृषक शाहको भनाइ छ ।

८३ फिट लम्बाई, १३ फिट चौडाई भएको फर्ममा करिब ३९ लाख रुपैयाँ लगानी गरेका थिए । रातको समयमा पेट्रोल छर्किएर आगो लगाइदिएको भए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान हुन सकेको छैन । म्याग्दीबा बाख्रापालक कृषकले बाख्रापालनमा आगालागी गर्नेलाई खोजी गरी कारवाहीको माग समेत गरेका छन् ।

Leave a Reply