गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगितामा म्याग्दी फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई सजिलै पराजित गरेको हो । प्रतियोगितामा अपराजित यात्रा कायम राखेको म्याग्दीले तनहुँ बिरुद्ध सुरुवात देखिनै हाबी भएको थियो ।

राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, राष्ट्रिय खेलाडी कमला पुन र क्षेत्रीय खेलाडी पवित्रा विसी सहित नयाँ खेलाडीलाई मैदानमा उतारेको म्याग्दीले उद्घाटन खेलमा नवलपुर, क्वाटरपाइनलमा स्याङ्जालाई पराजित गरेको थियो।

महिला भलिबलमा उपाधीको दावेदार मानिएका जिल्लालाई समेत सजिलै पन्छाउन सफल भएको म्याग्दीले फाइनल खेल छिमेकी जिल्ला पर्वतसँग खेल्ने छ । प्रतियोगिता अगाडी करिब १ साता बन्द प्रतिक्षणमा बसेका खेलाडीले खेलमा तय गरेको रणनीतिले काम गरेको मुख्य प्रशिक्षक तेजेन्द्र बानियाँले बताए । ‘अनुभवीसँगै नयाँ खेलाडीको खेल निकै उत्कृष्ट छ,‘पहिलोपटक सिधै क्षेत्रीयस्तरको खेलमा पुगेका खेलाडीले समेत राम्रो मेहनत गरेका छन्’ बानियाँले भने ।

यसैबीच पुरुषतर्फको सेमिफाइनलको खेल जारी छ । यो समाचार तयार गदैंगदौ पुरुषतर्फको खेल सुरु भएको म्याग्दी समुहको ब्यवस्थापक ठकबहादुर पुनले बताए । यसपटक दुबै खेलको उपाधी जितेर प्रदेशभित्र म्याग्दीलाई भलिवल प्रतियोगिताका लागि हब’का रुपमा सन्देश दिने तयारीमा म्याग्देली टोली छन् ।

प्रतियोगितामा मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि भएका छन । प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।

Leave a Reply