विगत १८ दिनदेखि बेपत्ता जिल्लाको धवलागिरी गाउँपालिका-६ मराङ जेवाङका एक यूवा मृत फेला परेका छन् । १९ बर्षिय सुनिल विक मालिका–६ दरबाङको जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । दरबाङस्थीत जनप्रिय माविमा कक्षा १२ मा अध्ययनरत विकको माघ २० गते घरबाट निस्किएका थिए । बेपत्ता भएका विकको शब घाँस काट्न गएका स्थानीयले रुखमा झुण्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय दरबाङलाई जानकारी गराएका थिए ।

पारिवारिक रुपमा कुनै विवाद नभएपनि एक्कासी घरबाट निस्किएका विकको खोजीकार्यमा परिवारले प्रहरीमा समेत निवेदन दिएको थियो । बेपत्ता विकको आफन्त, नातागोतालगायत सबैतिर खोजी गरिएपनि केही पत्ता नलागेपछि मराङका यूवाहरुले खोजीकार्य सुरु गरेका थिए ।

उनी फोनमा लामो समय कुराकानी गर्ने गरेको मृतकका आफन्तको भनाई छ । बेपत्ता विक बेनीतर्फ आएको हुनसक्ने आशंकामा बेनीमा रहेका मराङबासीले समेत खोजीकार्य समेत गरिएपनि मृत अवस्थामा भेटिएको जानकारी आएको मराङका यूवा दिपक शर्माले बताए । उनी विगतमा पनि घर छोडेर रोजगारीका लागि मुस्ताङ सम्म गएका थिए ।

Leave a Reply