जन्मदिन मनाउने आ-आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर म्याग्दीका एक जनप्रतिनिधिले विपन्न र आर्थिक अभावमा उपचारबाट बन्चित भएका बालकलाई सहयोग गरी जन्मदिन मनाएका छन् ।

जिल्लाको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले पाँचवटी छोरी जन्मिएको भन्दै श्रीमानले छोडेर गएपछि अलपत्र परेकी वडा नं २ लुलाङकी सुकमायाँ विकलाई ५ हजार र वडा नं ७ ताकमका आँखामा क्यान्सर भएका ज्योती लामगाडेलाई उपचारमा ५ हजार सहयोग हस्तान्तरण गरेका छन् ।

‘मैले आफ्नो ब्यक्तिगत खर्चमा कहिल्यै जन्मदिन मनाउँदैन्,‘जन्मदिनमा सानो भएपनि सहयोग गर्छु, विगतजस्तै यसपटक पनि दुईजनालाई सहयोग गरेर जन्मदिन मनाए’ छन्त्यालले भने । जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ ।

यसअगाडी समेत छन्त्यालले जन्मदिनको अवसरमा महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्र, म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष लगायत स्थानीयस्तरमा समेत विभिन्न ब्यक्तिलाई सहयोग गरी जन्मदिन मनाएका थिए ।

Leave a Reply