प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको अध्यक्ष गोविन्द पौडेल र सचिवमा बालकृष्ण सुबेदी चयन भएका छन् । संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएसँगै म्याग्दीमा तत्कालिन माओवादी र नेकपा एमाले खेमाको ५०–५० प्रतिशत सहभागिता हुने गरी मापदण्ड तयार गरेसँगै जिल्लाको नेतृत्वले पूर्णता पाएको हो।

अध्यक्ष पौडेल तत्कालिन माओवादीको जिल्ला इन्र्जाज, पार्टी एकिकरणपछिको नेकपाका अध्यक्ष समेत भएका थिए भने सुबेदी एमालेको प्रचार विभाग प्रमुख, नेकपाको कार्यदल सदस्य थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले बेग्लै गतिविधि गरिरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले समेत आफ्नो संगठन सहितको अभियान सञ्चालन गदैं आइरहेको छ ।

विभाजित नेकपाले आ–आफ्नो संगठनलाई पूर्णता दिने काम गरिरहेका छन्।पार्टी तथा भातृ र जनवर्गीय संगठनहरूमा बराबर हैसियत हुने गरी पूर्णता दिने गरी विभिन्न कार्यक्रममा समेत जुटिरहेका छन् ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच एकता हुँदा तत्कालीन एमालेले माओवादीलाई ४० प्रतिशत हिस्सा दिएर संगठनलाई पूर्णता दिएको थियो।

साविक जुन पक्षबाट संगठन प्रमुख रिक्त भएका हुन् त्यही पक्षबाट पूर्ति गर्ने र पदाधिकारी राख्दा वरिष्ठता र क्षमतालाई हेर्ने पनि मापदण्डमा उल्लेख छ।पार्टी र जनवर्गीय संगठनहरूमा पदाधिकारी तथा सदस्य राख्दा ५०–५० प्रतिशत हुने गरी व्यवस्था गर्न उनीहरू सहमत देखिएका छन्। म्याग्दीमा दुवैले आफ्नो बलियो पकट रहेको बताइरहेका छन् ।

Leave a Reply