दुवै मृगौला फेल भएर उपचारर्थ मंगला गाउँपालिका-१ कुहुँ खानीगाउँका ३८ बर्षिय पेशबहादुर राम्जालीको उपचारमा ११ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेको अवस्थामा नियमित उपचार गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गरेका राम्जालीलाई विदेशमा रहेका कुुहुँ, पूर्णगाउँ, तुसारेपानीबासीको पहलमा हालसम्म संकलन गरिएको ११ लाख ३५ हजार २९७ रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

सोमबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा लाल यूवा क्लव पूर्णगाउँका अध्यक्ष टेकबहादुर राम्जाली, उपाध्यक्ष बाबुराम आचार्यले पीडित पेसबहादुरलाई सहयोग रकम उपलब्ध गराउँदै थप सहयोग समेत क्लवमार्फत संकलन गरिने बताउनुभएको थियो । ‘प्रत्यारोपणका लागि धेरै खर्च लाग्छ,‘सहयोगलाई सदुपयोग गरेमात्रै दाताको सम्मान हुन्छ’ क्लवका अध्यक्ष राम्जालीले भन्नुभयो ।

उहाँका अनुसार क्लवका उपाध्यक्ष आचार्य र पीडित पेशबहादुरको नाममा गरिमा विकास बैंकमा संयुक्त हस्ताक्षर हुने गरी आर्थिक जम्मा गरिएको छ । उक्त सहयोगमा थपेर प्रत्यारोपण अगाडी डायलासिस सेवामा आवश्यक पर्ने औषधी, इन्जेक्सन लगायतमा समेत खर्च गरिने छ ।

पीडितलाई आयरल्याण्डबाट बेग राम्जाली, चन्द्रबहादुर पुन र यूकेबाट गोविन्द अर्मजाको पहलमा २ लाख २९५ रुपैयाँ, पोर्तुगलबाट जंग बहादुर राम्जाली, टेचन थजालीको पहलमा १ लाख ८ हजार १११, सहयोग रसिदबाट १ लाख २२ हजार ८१५ संकलन गरिएको छ ।

त्यस्तै पेशबहादुर बचाउ अभियानका ग्लोवल संयोजक समाजसेवी दिल गौचनको पहलमा १ लाख ६० हजार, विभिन्न देशबाट विरामीको खातामा ५ लाख ४१ हजार ४ सय ४६ र बिरामीलाई तत्काल उपचारमा आवश्यक पर्ने गरी ६५ हजार ४ सय रुपैयाँ दिइएको लाला यूवा क्लवले जनाएको छ । पीडित राम्जालीको आर्थिक अवस्था निकै नाजुक रहेकाले थप सहयोगको समेत अपिल गरिएको छ ।

Leave a Reply