धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको बेनी नगरपालिका-५, पौलस्त्य पुलहाश्रममा बहुचर्चित योजना रामायण पार्क बनाउन गरिएको प्रस्तावमा करिब एक दशकपछि बजेट विनियोजन भएको छ ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पुलहाश्रम क्षेत्र गुमनाम बनेको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेनी नगरपालिका साझेदारीमा पार्क सहित आर्कषक संरचना बनाउने भएको हो ।

कुल बजेटको ३० प्रतिशत बेनी नगर र बाँकी ७० प्रतिशत पर्यटन मन्त्रालयले खर्च गर्नेछ । करिब ३ करोड बढीको बजेटमा काम सुरू भएपनि हरेक बर्ष बजेट थपिदैं जाने भएकाले संरचनाको आकार समेत ठूलो हुने अनुमान गरिएको छ ।

यो योजनाले प्राकृतिक सम्पदाको रुपमा रहेको पुलहाश्रम आसपासलाई ब्यवस्थित गरी सुन्दरता कायम राख्न सघाउने छ। पुलहाश्रम आन्तरिक भन्दा बढी भुटान, श्रीलंका सहितका दक्षिण एशियाली राष्ट्रका हिन्दू धर्मावलम्बीहरु प्रख्यात छ।

दक्षिण भारत र श्रीलंकामा रावणलाई देउताको रुपमा पुजा गर्ने भएकाले पनि रावणको जन्मभूमिसम्म आउने वातावरण बनेको थिएन् । आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ।

पार्कको विस्तृत कार्ययोजना ९डिपिआर० अनुसार वडा नं ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आँपरुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा आसपासबाट संरचना बनाउन सुरु गरिने छ भने बेनपा–६ गुफाको डिलमा राम र सीताको मूर्ति र पौलस्त्य पुलह आश्रममा मुख्य रामायण पार्क प्रस्ताव गरिएको छ ।

पर्यटकलाई स्वागत र केही जानकारीमुलक सन्देशहरु मात्रै राख्ने हो । पार्क पौलस्त्य पुलहाश्रममै बन्नुपर्छ । केही ब्यक्तिको स्वार्थ र अन्य कारणले पार्कस्थल पुलहाश्रमबाट दायाँबायाँ गर्न खोजिए पहिचान नै गुम्ने खतरा छ । उक्त बजेट पनि पुलहाश्रममै बनाउनका लागि विनियोजन भएको हो ।

अब पनि स्थान र अन्य विषयमा अल्झिने प्रयास भएमा पार्क बन्ने सम्भावना न्यून छ । विवादले पार्क बनेन भने नगरपाकिलाको पर्यटनमा ठूलो क्षती हुने छ । अव सबैको सहकार्यमा योजना अगाडी बढाए मात्रै एक आकर्षक धार्मिक गन्तव्यका रुपमा समेत विकास गर्नुपर्छ ।

थोरै संरचना बनाएर धेरै पर्यटक भित्राउन सकिने स्थलको रुपमा समेत पार्कलाई लिन सकिन्छ । पुराना तथा मौलिक प्रविधिको संरक्षण र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पार्कले नगरको आम्दानीको स्रोत र स्थानीयस्तरमा रोजगारको अवसर समेत सृजना गर्छ । पार्क निमार्णमा सबै सरोकारवाला निकायले विना स्वार्थ र ब्यक्तिगत दवावलाई निस्तेज पादैं सम्पन्न गर्ने तर्फ ध्यान दिन जरुरी छ । बेनी साप्ताहिक पत्रिकाबाट

Leave a Reply