मालिका गाउँपालिका-२,रूमकी २२ बर्षिया सन्जीता सिर्पालीको दुवै मृगौला फेल भएको करिब एक बर्ष भयो। श्रीमान गजेन्द्रले पोखरा लगेपनि डायलासिस र नियमित औषधीका लागि खर्च जुटाउन नसकेपछि ओछ्यानमा पीडाले छटपटाइरहेकी छिन्।

सहज उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै शिवमार्ग टोलमा मासिक ३५ सय रुपैयाँ भाडामा साँधुरो कोठामा बस्दै आएकी सन्जिता चिसो भुईमा सुत्छिन्। कोठामा विहान–बेलुकी पकाएर खाने कुरा समेत छैन्। काखमा रहेको १ बर्षिय छोरा र ६ बर्षिया छोरीसँग धेरै रात भोकभोकै विताएका छन् ।

सन्जीताका श्रीमान गजेन्द्रलाई एउटै चिन्ताले सताइरहने गरेको छ।‘श्रीमतीको उपचार खर्च कसरी जुटाउने?’श्रीमतीको पीडा सहन उनलाई पनि कठिन भएको छ।

आफ्नो आर्थिक स्थिति राम्रो नभएकाले उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता बढेको गजेन्द्रले बताए। ‘घरबारी बेच्दा एक लाखा पनि पदैंन,‘श्रीमतिको रोग र छोराछोरीको खर्ज जुटाउन साथीहरूले केही सहयोग गर्नुभएको छ’ गजेन्द्रले भने ।

खाने, लाउने र कमाउने उमेरमा श्रीमतीको दुवै मृगौला फेल भएपछि साथी र आफन्तले गरेको सामान्य सहयोगले उपचारका लागि पोखरामा आएको र आर्थिक स्रोत जुटेमा हप्ताको दुई दिन डायलासिस गराउन अस्पतालमा जाने बताए। ‘दिनहरु निकै कठिन बनेको छ,‘‘एक पटक जाँदा १० हजार रुपैयाँ चाहिन्छ’सिर्पालीले भने।

नियमित डायलासिसगै आर्थिक जुटेमा श्रीमतिलाई मृगौला दिन तयार रहेको बताए। ‘साना छोराछोरीका लागि पनि उनी बाँच्नुपर्छ, डाक्टरले मेरो मृगौला मिल्न सक्छ भन्नुभएकाले बचाउन सकिन्छ भन्ने आश लागेको छ’ भावुक हुदैं सिर्पालीले भने।

अस्पतालमा डायलासिस निशुल्क भएपनि महङ्गो इन्जेक्सन र नियमित औषधी किन्नुपर्ने भएकाले आर्थिक सहयोगका लागि अस्पताल बाहिर समेत बसेर सहयोगको हारगुहार गरिरहेका छन् ।‘माग्ने ठाउँ कतै छैन्,अब त डायलासिस खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ,यस्तै अवस्था भए घरमै गएर मर्छु भन्छिन्’ उनले भक्कानिदैं भने ।

श्रीमानको सक्रियताले बाँच्ने आश पलाएपनि दैनिक ५ सय रुपैयाँ पनि सहयोग प्राप्त नहुदाँ चिन्तित भएको सञ्जिताले बताईन् ।‘मृगौला दिने घरमै छैन्,‘नियमित उपचार गर्ने पैसा नभएर कोठामै बसेको छु’ उनले भनिन् । डाक्टरले मृगौला प्रत्यारोपण गर्न ३५ देखि ४० लाख खर्च लाग्छ भनेपछि रोएरै दिन कटाएको सञ्जिताको भनाई छ।

विहान साँझ हातमुख जोर्न समेत धौ छ, म गरीबलाई उपचारमा सहयोग नभए मर्छु’ उनले भनिन्। उचित रेखदेखको अभावले छोराछोरी समेत विरामी हुन थालेको उनले बताए ।

जीवनभर एकअर्कालाई सात दिने बाचा कसम खाएर कलिलै उमेरमा विवाह गरेपनि अहिले श्रीमानले सहयोगका लागि धाईरहेको देखेर श्रीमानको अगाडी पीडा लुकाएर हाँस्ने गरेको बताईन् । उनले उपचारमा सहयोग गर्न समेत स्वदेश तथा विदेशमा रहेका म्याग्देली समक्ष याचना समेत गरिन् ।