म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँकी १८ बर्षिया कोपिला पुनले लामो समय अस्पतालमा विताईन् । बाथ र मृगौलामा पत्थरी र नशा सम्बन्धी जटिल समस्यालाई जित्न करिब डेढ बर्ष लाग्यो । एसइईको तयारीमा ब्यस्त हुनुपर्ने समयमा थरीथरीका रोगसँग जुध्न बाध्य भएकी कोपिलाले नियमित औषधी सेवन गर्न छोडेपछि उच्च शिक्षाका लागि सदरमुकाम बेनी बजार झरिन् ।

कमजोर शरीर र गाह्रो काम गर्न नसक्ने अवस्थामा उच्च शिक्षाको सपना बोकेर क्याम्पससम्म पुगेकी कोपिलासँग चुनौतीका पहाड छ । एकसरे कपडामा पुगेकी उनीसँग उच्च शिक्षाका लागि पुस्तक, पोसाक लगायतका आवश्यक शैक्षिक साम्रागी किन्ने आर्थिक छैन् ।

घरकी कान्छी छोरी कोपिलालाई उच्च शिक्षा पढाउन सक्ने क्षमता बुबा बलबहादुरसँग छैन्। छोरीको पढ्ने चाहना पुरा गर्न क्याम्पसमा पुगेका बलबहादुरले रित्तै थिए । छोरीको उपचार समेत स्वदेश तथा विदेशमा रहेका गाउँलेबाट सहयोग जुटाएर गरेका बलबहादुर पूर्णगाउँमा अर्काको जमिनमा बस्छन्।

उनको नाममा एक टुक्रा जमिन समेत छैन् । विपन्नताकै कारण विहान–बेलुकी हातमुख जोड्न समेत मुस्किल बलबहादुरका पाँच छोराछोरी मध्ये कोपिला कान्छी हुन्। मृत्युको मुखमा पुगेर फर्किएकी छोरीको पढ्ने चाहना पुरा गर्न नसक्ने अवस्था आएको भन्दै छोरीलाई सहयोग गर्न समेत अनुरोध गरे ।

चरम गरिबीका कारण क्याम्पसको छात्राबासमा बसेपनि कोपिलालाई उच्च शिक्षाका लागि आवश्यक पर्ने खर्च जुटाउन हम्मेहम्मे परेको छ । ‘घरबाट ल्याएर पढ्न सक्ने अवस्था छैन्,‘भएको पैसा मेरै उपचारमा सकियो,‘अहिले रोग निको भएपछि पढ्न आएपनि खर्च जुटाउन सकिँन’ कोपिलाले भनिन् ।

उनले घर खर्च चलाउन नसक्ने अवस्थामा बुबालाई पढाई खर्च मागेर पढ्न नसक्ने भन्दै एकोहोरो भक्कानिएर रोइन् । आफ्नो पीडा सुनाउँदै गर्दा बारम्बार रोएकी कोपिलाले पढाईमा सहयोग हुने आशाले बेनी आएको बताईन् ।

कोपिलाका एउटा दाई पनि आफ्नो पढाई खर्च धान्न बेनीमा बिहान पढ्न जाँछन् र दिनभरी होटलमा काम गर्ने गरेका छन् । बिहान–बेलुकी घाँसदाउरा, मेलापातमा गएर पनि पढाई, अनुशासनमा राम्रो विद्यार्थी भएकाले उचित वातावरण भए पढाईमा राम्रो गर्न सक्ने प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताए ।

‘रोगका कारण पढाईमा धेरै असर ग¥र्यो, अव वातावरण भए उनलाई समस्या छैन’ प्रअ राम्जालीले भने । यता पोशाक, पुस्तक र स्टेशनरी खर्चका साथै होस्टेलमा खाना बापतको मासिक खर्च बाहेक भर्ना र मासिक शुल्क क्याम्पसबाट निशुल्क हुने उप–प्राध्यापक एवम् छात्रा होस्टेल इन्चार्ज तारानाथ शर्माले बताए ।

‘साथीहरूसँग पढाई खर्च जुटाउन नसकेको भन्दै भक्कानिएर रुन्छिन्,‘कोपिलाका बुबाले पनि होस्टलमै आएर दुख पोख्नुभयो’शर्माले भने । पढाईमा आर्थिक सहयोगले कोपिलाको शैक्षिक भविष्यको ढोका खुल्ने शर्माको भनाई छ । उनलाई मासिक ५ हजार स्रोत सुनिश्चितता भएमा आवासीय सहित सम्पूर्ण खर्च पुग्ने शर्माको भनाई छ ।

क्याम्पस प्रमुख गोरखबहादुर जिसीले क्याम्पसमा विपन्न, असहाय बिद्यार्थीहरुको संख्या अधिक भएकैले सबैलाई होस्टेल खर्च निशुल्क गर्न सक्ने अवस्था नरहेको बताए । ‘निशुल्क गर्न सक्ने गछौं,‘होस्टेलमा बस्ने सबैको अवस्था करिब एउटै हुन्छ’ प्रमुख जिसीले भने । अपाङ्ता, दृष्टिविहिन र आर्थिक अभावका कारण छात्रबृत्तिमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुने सुविधाहरू कोपिलालाई समेत दिने क्याम्पस प्रशासनले जनाएको छ ।

थामिएन आशु
बिरामी भएर लामो समय अस्पताल र घरमै विताएकी कोपिलाले निको भएपनि पढाईमा आर्थिक संकट भोग्नुपरेको बताउँदै गर्दा एक्कासी आँखाबाट आसु नै बग्न थालेपछि मुख छोपिन् ।

लामो समयसम्म भाबुक बनेकी कोपिलाको समस्या उनकी साथी कन्चन अर्जमाले सुनाईन् । गाउँको विद्यालयमा कक्षा ६ देखि सँगै एउटै बेन्चमा बसेर पढ्ने गरेकी अर्मजाले कोपिलाको पढाई रोकिने चिन्ता लागेको बताईन् । ‘मलाई त आमाले दुख गरेर पु¥याउनुभएको छ,‘कोपिलाको घरको अवस्थाले सम्भव नै छैन’ अर्मजाले भनिन् ।

अर्मजाले करिब १० मिनेट कक्षा ६ देखि सँगै स्कुलमा पढेको साथीका बारेमा बताइरहदाँ कोपिला थप भाबुक बनिन् । उनका आँखाबाट निशब्द अविरल आँसुका धारा झारिरहेका थिए । कोपिलालाई सम्हाल्दै बोलेकी अर्मजाको आँखा पनि एकैछिनमा रसाए । कोपिलाको पीडालाई घरदेखि बेनीसम्म सँगै आँखा अगाडी देखेकी अर्मजाले कोपिलामै आँखाबाट आँसु थाम्न उच्च शिक्षामा सहज वातावरण बनाउनुपर्नेमा जोड दिईन् ।

अन्तिममा…
आर्थिक अभावकै कारण पढाईमा समस्या भएकी बताउँदै आएकी कोपिलालाई पढाईमा लाग्ने खर्च जुटाउने आश्वासन दिएपछि उनको अनुहारमा पुरानै चमक फर्कियो । रुदैं आफ्ना पीडा फुकाएकी कोपिलाले पढ्ने वातावरण भए राम्रो अंक ल्याउने बताईन् ।

आफ्नो पढाईमा हुने सहयोगलाई सदुपयो गर्ने समेत बाचा गरिन् । भक्कानिएकी कोपिलाको अनुहार उज्यालो भएपछि आफ्नो आँसुलाई थाम्ने प्रयास गरेपनि नसकेको बताइन् । उनले शिक्षामा सहयोग भएमा आफ्नो लागी सबैभन्दा ठूलो सहयोग हुने समेत बताईन् । सहयोग जुट्ने प्रतिबद्धतापछि उनी मुसुमुसु हाँस्दै साथीसँगै छात्राबासतर्फ लागिन् ।

सहयोग गर्न चाहनेले निम्न खातामा जम्मा गर्न सक्नुहुने छ ।
नाम: कोपिला पुन
खाता नं : 02301700831031000001
बैंकः गरिमा विकास बैंक बावियाचौर शाखा, म्याग्दी

Leave a Reply