नारच्याङको ४२ मेगावाटको मिस्ट्री खोला चैत १५ देखि प्रणालीमा जोडिने

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत आगामी चैत १५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सबै चरणको परीक्षण पूरा गरेर आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको हो ।

आयोजनाले उत्पादन गर्ने विद्युत कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनको दाना सबस्टेसनमा जोडिनेछ । दाना सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाले निर्माण गरिसकेको छ । तल्कालै विद्युत उत्पादन सुरु गर्न सकिने भए पनि भविश्यमा कुनै प्रकारको समस्या नदेखियोस भन्ने उद्देश्यले राम्रोसँग विभिन्न चरणको परीक्षण गर्ने कार्य भइरहेको आयोजना प्रमुख दीपककुमार शाहले बताए । उनका अनुसार भर्खरै आयोजनाको संरचनामा पानी भरेर परीक्षण गरिएको छ ।

‘सुरुङमा पानी भरेर अवस्था ठिक भएरनभएको परीक्षण गर्यों,’ उनले भने, ‘परीक्षण गर्दा कुनै समस्या देखिएन । सुरुङ खाली गरेर हेर्दा पनि समस्या नदेखिएकाले परीक्षण सफल भएको छ ।’ उनले अब आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सुरु गर्न लागेको बताए ।

उपकरणहरूको परीक्षण पूरा भएपछि चैत ८ गतेदेखि आन्तरिक परीक्षण उत्पादन गरेर हेरिने पनि उनले बताए । केही दिनसम्म लगातार हुने आन्तरिक परीक्षण सफल भएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको विद्युत प्रणालीमा जोड्ने शाहले बताए । १५ दिनसम्म परीक्षण गरेर विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि बैशाख १ गतेबाट व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ ।

यसअघि फागुन १६ गतेदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तालिका बनेको भए पनि परीक्षणको प्रक्रिया पूरा भइनसकेकाले केही पछि सारिएको प्रवद्र्धक माउन्टेन इनर्जी कम्पनीले जनाएको छ ।कम्पनीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो ।

आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ ।

मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोला सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ (क्यासकेड) आयोजना पनि निर्माण गर्दैछ । यसअगाडी घलेम्दी खोलाबाट समेत विद्युत केन्द्रिय प्रशारण लाइनमा जडान भइसकेको छ ।

समाचार स्रोत: ऊर्जा खबर