म्याग्दीका ग्रामीण बस्तीहरुलाई जोड्न धमाधम पक्की पुल निर्माण हुनथालेका छन् । संघीयतापछि जिल्लामा यति धेरै पक्की पुल बन्न थालेका हुन् । संघ र प्रदेश सरकारको बजेटमा १३ वटा पक्की पुल निर्माण हुन लागेका छन् । त्यसमध्य ८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । केही वर्ष भित्र ती स्थानमा पक्की पुल निर्माण भई बस्तीहरु सडक सञ्जालसँग सीधा जोडिने विश्वास गरिएको छ । यसलाई संघीयताको उपलब्धिका रुपमा सर्वसाधारणले लिन थालेका छन् ।

गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १० वटा,संघीय सरकार अन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले दुईवटा र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय एकाइमार्फत एक गरी १३ वटा पक्की पुल निर्माण गर्न लागिएको हो ।

पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने ३ वटा पुल अगामी जेठ महिनासम्म सम्पन्न गर्ने गरि निर्माणलाई तीव्रता दिएको कार्यालय प्रमुख नवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल,मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेशी अर्कला पुल जेठ महिनाभित्र सम्पन्न हुँदैछन् ।

यसै गरी सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुइवटा पक्की पुल निर्माण गर्दै छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिकाको वडा नम्बर ३ वरंजालाई जोडन्े गरी म्याग्दी खोलामाथि पक्की पुल निर्माणाधीन अवस्थामा छ ।

दुई वर्ष अघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत निर्माण थालेको उक्त पुलको अहिले सम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । कुल लागत १० करोड ७२ लाख १२ हजार ४ सय तिन रुपियाँमा लुम्बीनी प्राकृतिक जेभी सँग २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण केही महिना काम गर्न बाधा भए पनि यतिखेर पुल निर्माणले गतिलिएको उहाँले बताउनुभयो। उहाँका अनुसार पुलको लम्बाइ एकसय ५ मिटर हुनेछ । म्याग्दी खोलाको वारीपारी र बीचमा गरी ४ वटा पिल्लर हुनेछन् । तीनवटा पिल्लर निर्माण गरिसकिएको छ ।

यसैगरी मंगला गाउँपालिकाको केन्द्र बावियाचौर देखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दीखोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थमा छ । ११ करोड २४ लाख २५ हजार ५२ रुपियाँ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो ।

दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बीनी प्राकृतिक जेभी सँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । यो पुलको लम्बाइ ८० मिटर छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगमी एकवर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका ७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमाना दाङखोलामा निर्माण गर्न लार्गिको पक्की पुलको डिजाइन परिवर्तन भएकाले केही महिनापछि पुल निर्माण सुरु गरिनेछ ।

इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भएको छ । पुल निर्माण भएपछि दरवाङदेखि मुनासम्म सीधा सडक यातायात सञ्चालन हुनेछ । दाङ खोलामा बन्ने पुलले ताकमको ठूलो वस्तीलाई सडक सञ्जालसँग जोड्न सहयोग मिल्नेछ ।

यसै गरी बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २ करोड ७२ लाख रुपियाँमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो ।

यता बेनी नगरपालिका सिंगा देखि आगेबगर जोड्का लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि कार्यालयले डिजाइन सर्वेको काम सकेर डिपिआर हुँदैछ । कार्यालयले दिएको जानकारी अनुसार मालिका गाउँपालिकाको रितुङखोला, अधिभरा र मालिका ७ सिवरात्री खोलामा पनि पक्की पुल निर्माण गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यी स्थानमा निर्माण हुने पुलको सर्वे सम्पन्न भई डिपिआर तयार हुँदैछ ।

जलजला ७ केराबारी देखि बेनी नगरपालिका १ रत्नेचौरलाई जोडने गरी कालिगण्डकी नदीमा पुल निर्माण गर्न सर्वेको काम अगाडि बढाइएको छ । डिपिआर तयार भएपछि यसै वर्ष पुल निर्माणका लागि ठेक्का लगाउने कार्यालयले जनाएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइले अन्नपूर्ण गाउँपालिका ६ घार देखि ५ को पाउद्धारलाई जोड्न घारखोलामा पक्की पुल निर्माण थालेको छ ।

ग्रामीण बस्तीहरुलाई सडक सञ्जालसँग जोड्ने गरी आवश्यक पर्ने स्थानमा पक्की पुल निर्माणका लागि जिल्लाले सिफारिस गरी पठाएका योजनालाई संघ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । पुल निर्माणले ती बस्तीहरुको जीवनयापनमा सकरात्मक परिवर्तन आउने र आर्थिक विकासमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र दैनिकमा म्याग्दीबाट ठाकुरप्रसाद आचार्यले समाचार लेख्नुभएको छ ।

Leave a Reply