मनकारी मान्छे संसारको जुनसुकै कुनामा पुगे पनि उसको मनमा जन्मथलो धड्किरहन्छ। मातृभूमिमा केही योगदान गरौं भन्ने भावना छचल्किरहन्छ। यस्तै एक  हुन्- दलबहादुर शेरबुजा।

तिहार अगाडि हङकङको जागिरबाट बिदा लिएर जन्मथलो म्याग्दी फर्केका दलबहादुर बाढीपहिरोबाट विस्थापितहरूलाई घर बनाउने काममा स्वयंसेवी बनेर दिनरातै खटिएका छन्।

२०७७ असार २५ गतेदेखिको बाढीपहिरोले म्याग्दीमा धेरैको क्षति पुर्‍यायो। २४७ घर पूर्णरुपमा क्षति भए। त्यसमध्ये घर बनाउन जमिन र पैसा नहुने ४० परिवारका लागि विदेशमा रहेका म्याग्देलीहरूको संस्था ‘मोना आइसी’ले घर बनाइदिने अभियान चलाएको छ। त्यही अभियानमा बनेका घरहरूको रेखदेख गरिरहेका छन् दलबहादुर।

जम्माजम्मी दुई करोड रुपैयाँ बजेटबाट बरण्डासहितको तीन कोठे भवन र ट्वाइलेट बाथरुम बनाएर हस्तान्तरण गर्ने योजना छ।यस अभियानको नेतृत्व मोना आइसीका अध्यक्ष ओमनारायण जुग्जालीले गरेका छन्।

यता नेपालमा बसेर दलबहादुर र उद्यमी राजेश शाक्यसहितको समूहले काममा सहयोग पुर्‍याउँदै आएका छन्।‘चैतभित्र घर बनाइसक्ने योजना छ,’ दलबहादुरले भने, ‘अहिलेसम्म तीन वटा घरमा छाना छाइसक्यौं। अरु १३ वटा घर छाना छाउन तयारी अवस्थामा छन्।’ गत पुस अन्तिम साता पुन:निर्माण सुरू गरिएको हो।

पुन:निर्माण समितिले मालिका गाउँपालिकाको विममा १०, धौलागिरि गाउँपालिकाको मराङमा १० र धारापानीमा ४, त्यस्तै मंगला गाउँपालिकामा ४, बेनी नगरपालिकामा ४, रघुगंगा गाउँपालिकामा ४ र अन्नपूर्ण गाउँपालिकामा ४ वटा घर बनाइरहेको छ।

पुन:निर्माणका लागि म्याग्देलीले मन खोलेर सहयोग गरेको शेरबुजाले बताए। उनी तन र मन दिएर पुन:निर्माणमा समर्पित छन्। त्यसैले, कहिले उनी आफ्नै गाउँ विममा हुन्छन् त कहिले धारापानीमा। मंगलबार उनी अन्नपूर्ण गाउँपालिकाको भुरुङ गाउँमा अनुगमन गरिरहेका छन्।

‘सामाजिक कामबाट मनमा आनन्द मिल्छ,’ ५१ वर्षे शेरबुजा भन्छन्, ‘रिटायर्ड लाइफमा आफ्नै गाउँ फर्केर सामाजिक काममा लाग्नेछु।’

मोना हङकङका अध्यक्ष रहिसकेका दलबहादुर २०५३ सालमा हङकङ पुगेका हुन्। उनकी श्रीमती र छोरी छन्।

उनको स्वयंसेवी कामबाट उनका सहकर्मी एवम् म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्य प्रभावित छन्। ‘दल दाइको नि:स्वार्थ सक्रियताबाट हामीले सिक्नुपर्छ,’ शाक्य भन्छन्, ‘उहाँबाट गाउँप्रेमको नमूना हुनुहुन्छ।’

उनको मन कमलो छ। म्याग्देलीका लागि केही न केही गरिरहन्छन्। रिटायर्ड लाइफमा पनि जन्मथलो विम गाउँमा केही काम गर्ने खाका बनाइसकेका छन्। बाढीपहिरो पीडितलाई घर हस्तान्तरण गरेपछि धौलागिरि चक्रिय पदमार्ग घुमेर हङकङ फर्कने दलबहादुरको योजना छ। source: setopati.com

Leave a Reply