मगर जातीका कला, संस्कृति, भेषभुषा लगायतलाई राख्ने गरी संग्रालय निमार्ण गर्न उदेश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ । ३९ औँ मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा शनिबारदेखि महोत्सव सुरु भएको हो ।

‘कला संस्कृतिको सम्बद्र्धनमा ऐक्यबद्धता ः खेल, व्यापार तथा पर्यटन प्रबद्र्धनमा प्रतिबद्धता’ भन्ने नाराको साथमा आयोजना गरिएको महोत्सवबाट बचत भएको रकमलाई सङ्ग्रहालय बनाउन खर्चिने गरी महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पुन युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो । पर्वत सदरमुकाम कुश्माबजारको जिल्ला खेलकुद बिकास समितिको खेलमैदानमा सञ्चालित उक्त महोत्सव फागुन २५ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सवका आकर्षणका रूपमा एक लाख ५१ हजार प्रथम पुरस्कार राखिएको खुला भलिबल प्रतियोगिता, मगर जातीको मुख्र्यौली नृत्य प्रतियोगिता, रत्यौली तथा भजन प्रतियोगिता, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार साथै विश्वकै दोस्रो अग्लो बञ्जीजम्प अवलोकन, गुफाहरूको अवलोकन लगायत आयोजना गरिएको छ ।
कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको छ ।

कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था गरिने भएको छ । महोत्सव प्रबेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ ब्यबस्थापन हुने भएको छ ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएका छन् । शनिबारदेखि सुरु भएको महोत्सवका कारण सदरमुकाम कुश्माबजारमा चहलपहल बढेको छ । गाउँगाउँमा रहेका मगर समुदाय आ–आफ्नो गाउँको पहिचानसहित सदरमुकाम कुश्माबजारमा ओर्लिएका छन् । महोत्सवको सांसद पदम गिरीले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले सबै जातजाति, समुदाय, वर्ग, लिङ्ग र जातजातिका अधिकार सुनिश्चित नभएसम्म देशमा विकासको सपना पूरा नहुने बताउनुभयो । कार्यक्रममा पर्वत लगायत छिमेकी जिल्ला बागलुङ, म्याग्दी बाट पनि मगर समुदायहरुको उपस्थिती रहेको थियो भने पर्वत स्थित बिभिन्न संघसंस्थाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply