पश्चिम क्षेत्रमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने पर्वतको बाँसखर्क जोड्ने बारीबेनी–बगर–बाँसखर्क सडक कालोपत्रेका लागि रु सात करोड विनियोजन भएको छ । जलजला गाउँपालिका–२ बारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयमा पुगे पनि बजेटको सुनिश्चितता नभएका कारण बोलपत्र प्रक्रियामा जान सकेको थिएन ।

कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको थियो भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर सो मन्त्रालयमा पठाएको थियो । दश किलोमिटर लामो यो सडकको कूल लागत लगभग रु २२ करोड छ । यस वर्ष रु सात करोड विनियोजन भएपछि झण्डै सात किलोमिटर कालोपत्रे हुने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भूकम्प आपत्कालीन सहायता आयोजनाले उक्त सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको थियो । गत वर्ष पनि प्राधिकरणले डिपिआर स्वीकृत गरी आयोजना अघि बढाउन अर्थमन्त्रालयसँंग सहमति मागेको थियो । मन्त्रालयले स्वीकृत नदिएका कारण बोलपत्र आह्वान हुन सकेको थिएन । अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । यहाँ बर्सेनि फल्ने करोडौँका सुन्तला सडककै कारण ढुवानीमा समस्या छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित घरवास प्रवद्र्धन गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने जलजला–१ का वडाध्यक्ष तुलसी रेग्मीले बताउनुभयो । बासखर्कमा वार्षिक तीनदेखि पाँच करोडका सुन्तला उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply