सरकारले सामुदायिक विद्यालयलाई लक्षित गरेर ल्याएको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम म्याग्दी र बागलुङका विद्यालयमा पनि लागू गरिएको छ ।सरकारले नेपालको ६० वटा विद्यालयमा ‘एक विद्यालय, एक स्टाफ नर्स’को कार्यक्रम लागू गरेकोमा गण्डकी प्रदेशमा म्याग्दी र बागलुङ जिल्ला छनोट भएका हुन् ।

त्यसमध्ये म्याग्दीको बेनी नगरपालिकाको पाँचवटा र बागलुङको बागलुङ नगरपालिकामा पनि पाँचवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याएको दुवै नगरपालिकाले जनाएका छन् ।विद्यालय छनोट मापदण्डको आधारमा विद्यालयहरु छनोट गरी स्टाफनर्सलाई नियुक्ति दिएर राखिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दीमा बेनपाको प्रकाश मावि, बेनी सामुदायिक मावि, जामुनाखर्क मावि अर्थुङ्गे, गलेश्वर मावि तोरीपानी र अर्जुन मावि भकुण्डेमा स्टाफ नर्स कार्यक्रम लागू भएको छ । यसैगरी बागलुङ नगरपालिकाको गणेश मावि नारायणस्थान, रुद्रेपिपल, विद्यामन्दिर, बौडेचौर तथा तितौरे मावि छनोट गरी स्टाफ नर्सको व्यवस्था गरिएको छ ।

ती विद्यालयमा करार सेवामा पाँचौं तहका स्वास्थ्यका कर्मचारीहरुको व्यवस्थापन गरिएको छ । बालबालिकाहरुलाई विद्यालय तहबाटै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न तथा विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवाको पहुँचमा पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको छ । यसैगरी विद्यालयमा स्वस्थ, सफा र सिकाइमैत्री वातावरण तयार गर्न, किशोरकिशारीहरुको यौन तथा प्रजनन स्वास्थ्य एवं किशोरीहरुको महिनावारीसँग सम्बन्धित समस्याहरुको समाधान गर्ने कार्यक्रमले उद्देश्य लिएको छ । विद्यालयमा विद्यार्थीको स्वास्थ्य जाँचका साथै आइरन चक्की खुवाउने तथा सचेतनामूलक शिक्षा दिन थालिएको छ । कार्यक्रम लागू भएका विद्यालयमा नगरपालिकामार्फत आवश्यक औषधि, उपकरणसहित जनशक्तिको व्यवस्थापन गरिएको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा भर्नादर घट्दै गइरहेको अवस्थामा स्टाफनर्स कार्यक्रम आएपछि शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन् । सरकारले सञ्चालन गरेको विद्यालय स्टाफनर्स तथा विद्यालयमा दिवा–खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अनुमान गरिएको छ । विद्यालय स्टाफनर्स कार्यक्रमले धेरै फाइदा पुगेको हुँदा सामान्य एवं प्राथमिक उपचार गर्न सहयोग पुगेको प्रकाश मावि बेनीका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले अनुभव सुनाउनुभयो ।

विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातावरणीय शिक्षाका लागि विद्यालयमा स्टाफ नर्स कार्यक्रममार्फत सेवा प्रदान गर्न थालिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमा समेत शिक्षा प्रदान गरिनेछ । छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचार स्टाफ नर्सले गर्नेछन् ।

उनीहरुले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि तथा विकास भए नभएको स्वास्थ्य जाँच गरी अभिभावकलाई आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् । विद्यालय स्टाफ नर्स कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply